समाचार

विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाको आयोजनामा पदयात्रा(फोटो फिचरसहित)

भक्तपुर । विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले एक दिवसीय पदयात्रा कार्यक्रम गरेको छ । चाँगुनारायण नगरपालिका क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको उजागर गर्ने उद्देश्यले धार्मिक पदयात्रा गरेको कार्यक्रम सञ्चालन गरेको हो ।
नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा भएको पदयात्रामा सय जना भन्दा बढीको उत्साहजनक सहभागीता थियो । नगरपालिकाको प्राङ्गडबाट नगर प्रमुख खत्रीले उद्घाटन गरेपछि सुरु भएको पदयात्रा करिव १० किलोमिटरको दूरीमा रहेको कल्पेश्वर धाममा पुगेपछि मेयर खत्रीले समापन गरेका थिए । नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा मर्णिकर्णिका, वाल्मीकेश्व, महामञ्जुश्री सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसी पुगेर सम्पन्न भएको हो ।

चाँगुनारायण नगरपालिकाको पर्यटन शाखाको आयोजनामा करिव साढे चार घण्टालामो पदयात्रा भएको हो । पदयात्रामा प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, वडा नम्बर २ का वडाध्यक्ष शोमप्रसाद प्रधान,वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्का,वडा नम्बर ६ का वडाध्यक्ष धनबहादुर लामा,वडा नम्बर ८ का वडाध्यक्ष एवं प्रवक्ता जनकखत्री, वडा नम्बर ९ का वडाध्यक्ष गणेश त्यात, शिक्षा, खेलकुद तथा युवा महाशाखा प्रमुख बीर बहादुर खड्का, पालिकाका कर्मचारी, पर्यटन व्यवसायी, विभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानीयबासीको व्यापक सहभागीता थियो ।

पदयात्रामा चाँगुनारायण नगरपालिका वडा नम्बर ७ र ८ नम्बरका धार्मिक स्थालहरुको अवलोकन तथा महिमाको जानकारी समेत लिइएको थियो । साथै, नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने कार्यको समते रचनात्मक सुझाव प्राप्त भएको थियो ।
पदयात्रालाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिकालाई स्वदेसी तथा विदेसी पर्यटकको आकर्षणको केन्द्र बनाउने नगर प्रमुख खत्री बताए । नगरसभाको पहिलो बैठकबाट विसं. २०८२ साललाई चाँगुनारायण पर्यटन भ्रमण वर्ष नगरकोटमा मनाउने घोषणा गरिसकेको समेत जानकारी दिए । पर्यटन दिवसको अवसरमा आयोजित पदयात्रा कार्यक्रमले नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना रहेका धार्मिक, ऐतिहासिक पदयात्रा गरी पर्यटनको प्रवद्र्धन र आर्थिक विकासको मुख्य पाटोका रुपमा पर्यटन क्षेत्रको विकास गर्न सघाउ पुग्ने बताए ।

पदयात्रा समापन गर्दै नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्रभित्रका रहेको बताउँदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको नगर प्रमुख खत्रीले बताए ।

पदयात्रामा सहभागी नगरपालिकाका प्रवक्ता जनक खत्रीले यहाँको धार्मिक पर्यटकीयस्थलहरुलगायत यस क्षेत्रमा रहेको वनजङ्गल, प्राकृतिक स्रोत एवं झरना, कृषि पर्यटन, पानीका मुहान एवं यहाँबाट देखिने काठमाडौँ उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै कलमसीसम्मको पाँच घण्टा पदयात्रामा निकै आनन्द दिएको बताए । उनले यो यात्राले चाँगुनारायण नगरपालिकाभित्र लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रहरु छन्, यसलाई उजागर गर्दै आगामी दिनमा यी क्षेत्रहरुलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गका रुपमा स्थापित गर्न टेवा पुग्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विश्व पर्यटन दिवसको महत्वमाथि प्रकाश पार्दै पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन आर्थिक विकासको मेरुदण्ड बन्ने बताउँदै यहाँका नागरिकको आर्थिकस्तर विकासका लागि पर्यटकीय क्षेत्रको विकास र विस्तार आवश्यक रहेको औँल्याए ।

नगरपालिकाको लोगो अंकित टिसर्ट र क्यापमा सजिएको टोलीले पदयात्राको आकर्षणलाई नगरपालिका पर्यटन शाखाकी प्रमुख सन्तोषी नेपालीले धन्यवाद प्रकट गरेकी थिइन ।
चाँगुनारायण नगरपालिका प्राकृतिक,धार्मिक र सांस्कृतिक रुपमा बैभव छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट