समाचार

खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, कति पर्छ किलोको ?

काठमाडौ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने भएको हो ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले मूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्‍ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए ।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्‍ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्‍ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *