देश

कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

काठमाडौं । सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएको छ ।

हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ । पानी र दाउराको सहज आपूर्ति भए पनि मुख्य कच्चा पदार्थ हलेदो नपाएका कारण उद्योग सकंट परेको हो । कच्चा सामग्री सरल र सुपथ मूल्यमा पाउने आशामा सञ्चलनमा ल्याइएको उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपुर्ति हुन नसकेको आदेय उद्योगका संचालक परमेश्वर अधिकारीले बताए ।

उनले भने, पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा बाहिरबाट ढुवानी गरेर ल्याउदा महङ्गो पर्ने भएकाले उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिएको छैन । यो उद्योगबाट उत्पादन हुने तेलको बजार अमेरिकामा मात्र छ ।

हालसम्म अन्य देशका बजारमा जोडिन पाएको छैन । यस उद्योगले भविष्यमा अर्गानिक बेसार (पाउडर)उत्पादन गरी यूरोप अमेरिकी कम्पनीमार्फत बिक्री बितरण गर्ने र देशभित्र पनि अनुशन्धान गरी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्य लिएको संचालक अधिकारीले बताए ।

जीविकोपार्जन, उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटियन नेपालले बाँझो जमिनको उपयोग गरी रोजगारीको बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाब दिएपछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक अधिकारीले बताए । उनले भने उत्पादनलाई बजारसँग जोड्दै गाउँघरमा आयआर्जनमा सहयोग पुर्याउनु उद्योगको प्रमुख उद्देश्य हो ।

यो उद्योग ०७५ सालमा स्थापना भएको हो । ७० लाख रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए । उद्योगमा वासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिन प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ । नेपालमा अन्य ठाउँमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भए पनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको प्राविधिक सल्लाहाकार छवी काफ्लेले बताए ।

वर्षभरी तेल उत्पादन गर्ने गरी कच्चा पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले आठ सय लिटर तेल उत्पादन गर्न सक्छ । तीन सय टन हलेदोको खपत गर्न सक्छ । यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यक पर्छ । यो उद्योगलाई नियमित सञ्चाचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्र निर्माण गर्नुपर्ने सञ्चालक अधिकारी बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *