रिबन

मुख्य समाचार : एमालेमा रहेका पूर्वमाओवादी नेताको असन्तुष्टि, कांग्रेसभित्र पनि विवाद कायमै

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू ‘सखर’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र ‘गोबर’ भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा बाबुराम र रविन्द्र मिश्र उस्तै हुन् भन्ने कुरा उठिरहेको भन्दै उनले पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे ।

पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गरेका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ । राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराइयो ।

गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुको बुधबार निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ तथा देउवा पत्नी आरजु राणा देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेर भित्र्याएका हुन् । चौधरी लोसपाकी निवर्तमान सांसद तथा पूर्वमन्त्रीसमेत हुन् ।

नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

नेकपा एमालेले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टी अध्यक्ष केपी ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर सूची पठाएपछि माओवादी समूहका नेताहरुले खुला रुपमै असन्तुष्टि पोख्न थालेका छन् । ओलीले परामर्श नै नगरी समानुपातिक सूची बनाएको भन्दै पूर्वमाओवादी नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ । डा. कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिएको हो ।

मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी पर्वतारोही हिलारी नेल्सनको शव काठमाडौं पठाइएको छ । केहिबेर अघि सामागाउँबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल शव पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक सार्वजनिक मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

रुसबाट जर्मनीसम्मको प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको खबर आएपछि युरोपेली संघ (इयू) मा आक्रोश पोखिएको छ । इयूले यस सम्बन्धमा प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले दुई पानीमुनि प्राकृतिक ग्यास पाइपलाइनलाई जानाजानी क्षति पु¥याएको आशंका गरिएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *