सम्पादकीय

कांग्रेसलाई किन लगिँदैछ ब्रह्मनाल ?

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण देशभर चुनावी माहोल तातेका बेला कांग्रेसमा भने विग्रह देखापरेको छ । सबै दलहरू अहिले उम्मेदवार छनोटमा लागेका छन् । तर देशकै ठूलो दल नेपाली कांग्रेसमा भने नेताहरूबीच सम्बन्ध सुधार देखिएको छैन । सारमा पार्टी एक भए पनि रूपमा भने दुई देखिएको छ ।

आफूले भनेको जति सिट नपाए संस्थापन इतर समूह अलग ढंगले चल्न थालेको छ । डा.शेखर कोइराला समूह यसपटक सभापति शेरबहादुर देउवालाई गलाएर छाड्ने अभियानमा देखिएको छ । उसले समानुपातिक बन्दसूची नसच्याए जे पनि हुन सक्ने चेतावनी दिएको छ ।

कांग्रेसमा देखिएको यस्तो विग्रहको फाइदा भने एमालेले उठाउने निश्चित देखिएको छ । उसले अन्य दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएको मात्र छैन, टिकट दिने गरी अघि बढेको छ । कतिसम्म भने कांग्रेसको असन्तुष्ट समूहसँग केपी ओली निरन्तर संवादमा छन् । यदि आफूले भने जति टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने मनस्थितिमा कोइराला समूह रहेको छ । यसले अन्ततः कांग्रेसलाई ब्रह्मनालमा पुर्याउने निश्चित छ ।

कोइराला पक्षले बुधबार पार्टी कार्यालयमा धर्ना दिएको थियो । त्यसैगरी बिहीबार बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेको छ । चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत सहभागी थिए ।

चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ । आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएको छ ।

संस्थापन पक्षले समानुपातिक बन्दसूची सच्याउने आश्वासन दिए पनि कोइराला समूह अझै शान्त देखिएको छैन । कांग्रेसको १४औं महाधिवेशनमा ४० प्रतिशत मत नल्याए पनि अहिले चुनावमा ४० प्रतिशत भाग चाहियो भन्दै कोइराला समूह अघि बढेको छ । यसले गर्दा चुनावमा कांग्रेसले धेरै ठाउँमा सिट गुमाउने चिन्ता नेता कार्यकर्तामा देखिएको छ । स्वतन्त्र उम्मेदवार देशभरि उदाएका बेला कांग्रेसलाई सिध्याउन किन कोइराला समूह यसरी लागेको होला भन्दै चिन्ता उत्पन्न हुन थालेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट