राजनीति

एमालेको कार्यक्रममा कमल थापा किन गए ?

मकवापुर । नेकपा एमालेको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेपछि केही क्षण तरंग पैदा भएको छ । बिहीबार बिहान एमाले मकवानपुरले दसैँ-तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा अध्यक्ष थापा टुप्लुक्क पुगेका थिए ।

एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा थापाको उपस्थितलाई राजनीतिक रुपमा अर्थपूर्णरुपमा हेरिएको छ । पहिलोपटक हेटौंडा–५, सानोपोखरास्थित एमाले मकवानपुरको पार्टी कार्यालय पुगेका उनले बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतसँग भलाकुसारी गरेका थिए ।

मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारी गरिरहेका अध्यक्ष थापाले पछिल्लो समय एमालेसँग चुनावी तालमेलका लागि छलफल गरिहेका छन् । बिहीबार एमालेको कार्यक्रममा खबर नै नगरी जानुुलाई चुनावसँग जोडिएर हेरिएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग मकवानपुर–१ बाटै पराजित भएका थापाले आगामी मंसिर ४ मा हुने निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । उनले त्यसका लागि एमालेसँग सहयोग मागिरहेका छन् । कार्यक्रममा उनले एमालेका जिल्ला नेताहरुसँग चुनावी माहोलबारे छलफल गरेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाको साथमा महामन्त्री राजाराम बर्तौैला, भाइ गणेश थापा, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहितका नेता पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *