रिबन

यसपालिको दशैँ ‘हिले’ हुने सम्भावना कति?

काठमाडौं ।यो पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावनायुक्त मौसमी गतिविधिहरू देखिएको मौसमविद्हरूले बताएका छन्।

हालसम्मका मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ “हिले” हुनसक्ने उनीहरूको पूर्वानुमान छ।

कतिपय मौसमविद्का भनाइमा चाहिँ “अक्टोबर र नोभेम्बर” महिनाका मौसमी गतिविधिहरू “सङ्क्रमणकालीन र अप्रत्याशित खालका” समेत हुने गरेकाले यसै भन्न सकिन्न।

एकजना मनसुन विज्ञले चाहिँ नेपालमा मनसुनको प्रकृतिमा पहिलेको तुलनामा कैयौँ परिवर्तन देखापरेको भन्दै थप अध्ययनको आवश्यकता औँल्याए।

दशैँका बेलामा वर्षा
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्‌ मञ्जु बासीका अनुसार अहिले बङ्गालको खाडी क्षेत्रमा न्यून चापीय अवस्था विकास हुँदै गइरहेको देखिएको छ।

त्यसको प्रभावले नेपालमा आगामी साता वर्षा हुने सम्भावना देखिन्छ।

यद्यपि नेपालमा तीन दिनको मात्र विस्तृत अध्ययन गर्ने गरिएकाले यसै भन्न सकिँदैन।

“अहिलेको मौसम प्रणालीको अनुगमन गर्दा नवमी र दशमीका दिन लगभग नेपालभरि नै वर्षाको सम्भावना देखिन्छ,” उनले भनिन्।

अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली एकाध दिनमा पूर्ण बन्ने र त्यो नेपालको पूर्वी क्षेत्र हुँदै पश्चिमतर्फ लाग्दा वर्षा हुने सम्भावना देखिएको उनले बताइन्।

टीकाका दिन विशेषगरी गण्डकी प्रदेश र त्यसभन्दा पश्चिमतिर बढी वर्षा हुने पूर्वानुमान गरिएको उनको भनाइ छ।

मनसुन कहिलेसम्म जारी रहन्छ?
नेपालमा जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ तारिखमा बाहिरिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यद्यपि यसपालि उक्त मितिभन्दा केही अघि नै मनसुन सक्रिय भएको थियो भने अक्टोबर २ तारिखभन्दा पछिसम्म मनसुन लम्बिने देखिएको छ।

“अहिलेसम्मका मौसमी गतिविधि हेर्दा यो वर्षको मनसुन अक्टोबर २ तारिखभन्दा अलिपछिसम्म जाने देखिएको छ,” मौसमविद् बासीले भनिन्।

करिब एक दशकदेखि नेपालमा ढिलोगरी मनसुन भित्रने र ढिलै अन्त्य हुने प्रवृत्ति पटकपटक देखापरेको उनले बताइन्।

‘मनसुन बाहिरिने समय पछि सर्दै’
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार नेपालमा मनसुन सुरु हुने दिनमा खासै परिवर्तन नआएको भए पनि मनसुन अन्त्य हुने दिन भने पछि सरिरहेको छ।

त्यसको कारण विभिन्न हुनसक्ने भन्दै उनी त्यसबारे “थप अध्ययन जरुरी रहेको” बताउँछन्।

“एउटा कारण जलवायु परिवर्तन हुनसक्छ। जलवायु परिवर्तनका कारण समुद्री तापक्रम बढिरहेको छ त्यसको प्रत्यक्ष प्रभाव मनसुनमा पर्छ। तर त्यसबारे थप अध्ययन हुनु जरुरी हुन्छ,” उनले भने।

पछिल्लो दशकमा मनसुन अन्त्य हुने समय पछि सर्दा दशैँका बेलामा पनि वर्षा हुने गरेको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार नेपालमा हरेक दश वर्षमा मनसुन अवधिबारे पुनरवलोकन गर्ने गरिन्छ।

त्यस क्रममा सन् २०२० मा त्यस्तो पछिल्लो पुनरवलोकन भएको थियो।

त्यसपछि नेपालमा मनसुन सुरु हुने दिन जुन १३ र अन्त्य हुने दिन अक्टोबर २ ठानिएको हो।

त्यसअघि जुन १० मा मनसुन सुरु भएर सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिने ठानिन्थ्यो।

उनी दशैँका बेलामा वर्षा हुने पूर्वानुमान गरिएको भए पनि “अक्टोबर र नोभेम्बर महिनाको मौसम अनिश्चित हुने” बताउँछिन्।

“यो बेला सङ्क्रमणकालीन प्रवृत्तिको मौसम हुने भएकाले त्यसको पूर्वानुमान पनि मिल्छ नै भन्ने हुँदैन,” उनले भनिन्।

सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार नेपालमा परम्परागत रूपमा पूर्वबाट मनसुन प्रवेश गरेर पश्चिम जाने भन्ने गरिएको छ।

“तर कतिपय अवस्थामा अहिले गङ्गा नदी हुँदै भैरहवातर्फबाट नेपाल प्रवेश गरेर मनसुन पूर्व आएको पनि देखिएको छ,” उनले भने।

“यस्ता प्रवृत्तिबारे थप अध्ययन हुनु जरुरी छ।”

सिग्देलका अनुसार बङ्गालको खाडीमा जति धेरै पटक न्यून चापीय प्रणाली विकसित हुन्छ त्यति नै धेरै पटक नेपालमा मनसुनी वर्षा हुने गर्छ।

तर नेपालमा अरेबियन सागरमा उत्पन्न भएको त्यस्तो प्रवृत्तिका कारण पनि मनसुन सक्रिय हुन्छ।

उनले भने, “हिन्द महासागरको समुद्री तापक्रम बढेका बेला बङ्गालको खाडीमा न्यून चापीय प्रवृत्ति बढी देखिन्छ भने पूर्वी प्रशान्त महासागरको समुद्री तापक्रम बढ्दा त्यसको प्रभाव पनि देखिन्छ।”

उनका भनाइमा पूर्वी प्रशान्त महासागरको समुद्री तापक्रम बढ्दा भने नेपालमा वर्षा कम हुने गरेको देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *