रिबन

मुख्य समाचार : सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति, एमाले उम्मेदवारको टुङ्गो लगाउने कसतरमा

काठमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अहिलेको अबस्था देखेर नागरिक वाक्क भएको समेत दाबी गरे । उनले भने,‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेताहरूलाई अवसर नपाउँदा अर्को पार्टीमा जान थालेको गुनासो गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा स्वार्थ हावी हुन थालेको बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संस्थापनइतर पक्षलाई ३० प्रतिशत दिन तयार भएका छन् । देउवानिकट एक नेताले भने, ‘पार्टीभित्र विवाद चर्किँदै गयो, त्यसमा सभापतिज्यूको गम्भीर ध्यानाकर्षण भएको छ र त्यसलाई मिलाएर अगाडि लाने उहाँले बताइरहनुभएको छ ।’

सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्याङ्कन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेपछि केही क्षण तरंग पैदा भएको छ । बिहीबार बिहान एमाले मकवानपुरले दसैँ–तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा अध्यक्ष थापा टुप्लुक्क पुगेका थिए ।

डेंगी संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निशुल्क पारासिटामोल औषधी वितरण शुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको हो ।

उत्तर कोरियाले पूर्वी जल क्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)का अनुसार दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *