रिबन

दसैंमा पशुुबलि

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ ध्यान दिनै पर्दछ– बेवास्ता गरेर उम्कनै सकिदैन।

कुनै बेला यसलाई राज्यले राष्ट्रिय स्तरमै ‘सम्पूर्ण नेपालीको महान पर्व’ भन्थ्यो तर जनजाति समुदायको एक तप्काले आफ्नो चाड नभएर र राज्यले जबर्जस्ती लादेको भन्दै बहिष्कारको अभियान थाल्यो। त्यसपछि भाष्य परिवर्तन गरेर ‘सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान पर्व’ भन्न थाल्यो। वास्तविकता त के हो भने हिन्दू नै भए पनि नेपालका केही समाजमा दसैं प्रमुख चाडको रूपमा रहेको पाइँदैन। दसैंको बेला ललितपुरको खोकनामा रूद्रायणी नामको हिन्दू देवीसँग सम्बन्धित अर्कै चाडपर्व चलिरहेको हुन्छ र यसको सम्बन्ध दसैंसँग हुँदैन। सुदूरपश्चिम क्षेत्रको नेपाली समाज हिन्दू बाहुल्य भए पनि त्यहाँ दसैंं नभएर ‘गौरा’ प्रमुख पर्व हो। नेपाली समाजमा दसैंको अस्तित्व मध्यकालमा मात्रै देखापर्दछ। दसैं मान्ने नेपाली समाज पशुवलिका सन्दर्भमा विभाजित मात्रै होइन, एकअर्का बीच अनेक तरहले लाञ्छना लगाउने र टीकाटिप्पणीसमेत गरिरहेका हुन्छन्। अहिले भने बलिकै सन्दर्भमा केही चर्चा गरिन्छ।

‘बली’ शब्दले देवीदेवताको मूर्ति वा तस्बिर अगाडि पशु वा पक्षीको पूजा गरेर पर्सिएपछि घाँटी रेटेर रगतको धारा छर्कने अर्थ मात्रै दिँदैन। कसैलाई मनपर्ने कुरा अर्पण गर्नुु तथा पूजालाई पनि बली नै भनिन्छ। देवतालाई मेवामिष्ठान्न तथा फलफूललगायत खाद्यसामग्री अर्पण गर्नु मात्रै नभएर फूलको गुुुच्छा चढाउनु पनि बली नै हो। पशुमा कुन पशु वा पक्षीमा कुन पक्षीको अथवा अन्य के कुरा बली दिएर आफ्नो आराध्य देवी वा देवताको पूजा गर्ने भन्ने कुुरा व्यक्तिको सोचविचार, दृष्टिकोणमा तथा इच्छा र गच्छेमा भर पर्दछ। देवीदेवतामा कुनै आस्था नै नभएका भौतिकवादीले जुनसुकै बली दिए पनि त्यसलाई नकारात्मक रूपमा लिने त भइहाल्यो, यस सवालमा आस्थावानहरूबीच पनि मतभिन्नता भएको पाइन्छ।

दसैंमा पशुवलीको सन्दर्भमा विभाजित दुई विचारधाराका अनुुसार आफूले गरेको ठीक मात्र होइन शास्त्रसम्मत नै छ। पशुुबली दिनुभनेर कहाँ लेखिएको छ ? भन्ने प्रश्न र शास्त्रमै पशुुवली चाहिन्छ भनेको छ भन्ने दुई विरोधाभाषपूूर्ण मत अलि रोचक पनि छ। यस्तो विवादका बेला यी दुवै पक्षधरले शास्त्रबाटै यस्ता विभिन्न श्लोकहरू प्रस्तुुत गर्दछन् जुन स्वभावत: एकआपसमा बाझिएको हुन्छ। अझ रोचक कुरा त के हो भने यसरी प्रस्तुत गरिने श्लोकहरू आआफ्नो सुविधाअनुसार छानेर मात्रै प्रस्तुत गरिन्छन्। अझ कतिपय सन्दर्भमा अगाडि पछाडिका प्रसङ्ग वा श्लोकहरू लुुकाएर विवादमा विजय हुने दाउ पनि खोजिरहेको पाइन्छ।

सात्विकहरू मेवामिष्ठान्न वा फलफूललगायतका खाद्यवस्तु राखेर बली (पूजा) गर्छन्। पशुुवलीसँग उनीहरू तर्किन्छन्। उनीहरूका अनुसार दसैंमा पुजिने देवी साक्षात् माता हुन् जसले चराचर जगतमा भएका सम्पूूर्ण प्राणीलाई आफ्नो सन्तानको रूपमा लिन्छिन्। देवी माताले आफ्नै सन्तानको प्राण (बली) स्वीकार गर्दिनन्। मासु खान मन लागेर देवीको नाममा पशु काटेका हुन्। साना हुन् वा ठूला, प्राणीको हत्या गर्नुु महापाप हो अनि देवीमाताको नाममा प्राणी हत्या गर्नु झन् महापाप हो। पशुुबली दिनु हुन्छ भनेर कुनै शास्त्रमा लेखिएको छैन। यस्ता अनेक तर्क गर्नका लागि उनीहरू धर्मशास्त्रकै आधार प्रस्तुत गर्दछन्।

अब पशुबलिका पक्षपातीहरूको कुुरा सुुनौं। उनीहरूका अनुसार खानकै लागि पशुु वा पक्षी मारेको होइन। आफूूहरू तान्त्रिक विधिबाट पूूजा गर्ने भएकाले शास्त्रमा जे भनिएको छ त्यसैलाई अनुशरण गरिएको हो। तान्त्रिक विधिबाट पूजा गर्न पशुुबली दिनुपर्दछ र प्रसादको रूपमा ग्रहण गरेपछि पूजा सम्पन्न हुन्छ। उनीहरू बलीमा चढाइने पशुु वा पक्षी ८४ हजार योनिमा भट्किरहेको हुुन्छ तर यसरी बलि चढाएपछि उसको आत्मा मुक्त भएर परमात्मामा लीन हुन जान्छ भन्ने तर्क पनि गर्छन्। अर्थात् जीवलाई दु:ख दिएको नभएर मुक्ति दिएको हो, उद्धार गरेको हो। उनीहरूको थप तर्क छ– देवीलाई मनपर्ने पशुुबली नै हो, पशुवली नदिनु देवीलाई अनादर गर्नु हो।

दसैंमा पशुुवलीको सन्दर्भमा विभाजित दुुई विचारधाराका अनुुसार आफूले गरेको ठीक मात्र होइन शास्त्रसम्मत नै छ। पशुुबली दिनुभनेर कहाँ लेखिएको छ ? भन्ने प्रश्न र शास्त्रमै पशुुवली चाहिन्छ भनेको छ भन्ने दुुई विरोधाभाषपूूर्ण मत अलि रोचक पनि छ। यस्तो विवादका बेला यी दुवै पक्षधरले शास्त्रबाटै यस्ता विभिन्न श्लोकहरू प्रस्तुुत गर्दछन् जुन स्वभावत: एकआपसमा बाझिएको हुन्छ। अझ रोचक कुरा त के हो भने यसरी प्रस्तुुत गरिने श्लोकहरू आआफ्नो सुविधाअनुसार छानेर मात्रै प्रस्तुत गरिन्छन्। अझ कतिपय सन्दर्भमा अगाडि पछाडिका प्रसङ्ग वा श्लोकहरू लुुकाएर विवादमा विजय हुने दाउ पनि खोजिरहेको पाइन्छ।

पशुवली मन नपराउनेहरूका नजरमा पशुुबलीका पक्षपातीहरूले गर्दा हिन्दूधर्मको बदनाम भइरहेको छ। यसको जवाफमा उनीहरू पशुुबली नै दिनुुपर्छ भनेर हामीले जोरजुलुम गर्न आएका छैनौं। हाम्रो पद्धतिअनुुसार हामी पूजा गर्दछौं, बिथोल्न नआउनू भन्छन्।
पशुवलीका विरोधीहरू पनि अहिले संगठित हुन थालेका छन्। यस्तै साकाहारी भोजनको अभियान पनि अहिले विश्वव्यापी हुन थालेको छ। पशुअधिकारको वकालत गर्नेहरूको सञ्जाल पनि विश्वव्यापी नै छ। यी कुराहरू बेग्लाबेग्लै विषयवस्तु हुन्। अभियानकै रूपमा अगाडि बढिरहेका छन्। सम्बद्ध अभियन्ताहरू पशुुबलि प्रथाविरूद्ध पनि खनिन थालेका छन्। यस अवस्थामा पशुुवलीका विरोधी, साकाहारी र पशुअधिकारवादी अभियन्ताहरूले मोर्चाबन्दी गरिरहेको देखिन्छ। पशुअधिकार, पशुवली विरोध र साकाहारी अभियान एउटै कुुरा होइनन् अर्थात् पशुवलीका विरोधी तथा पशुअधिकारवादीहरू साकाहारी हुनैपर्छ भन्ने जरूरी छैन र हुनुहुँदैन भन्ने पनि होइन। पशुवलीका विरोधी तथा पशुअधिकारवादीहरू देवस्थानमा पशुवलीको विरोध गर्दै हिँडेको तर साँझ होटेलमा मासुभात खाइरहेको अवस्थामा भेटिएपछि (तराईको कुनै ठाउँ) भएको विवाद यही कुरालाई बुुझ्न नसक्नुको परिणाम हो।

पशुुवलीका पक्षपातीहरूको एउटा आरोप छ, धर्ममा बाह्य हस्तक्षेप बढेको छ। पशुुबली आफ्नो धार्मिक अभ्यास हो र यसलाई प्रभावित पार्न केही व्यक्तिलाई यहाँ परिचालित गरिएको हो। यो बडो संवेदनशील कुरा हो। पशुुवलीको विरोध, पशुअधिकारको वकालत र साकाहारी अभियान एउटै मोर्चामा मोर्चाबन्दी हुँदा समस्या गिजोलिएको हो। हिन्दू धर्मसम्प्रदायभित्रको वैष्णवी, कृष्णप्रणामी, राजयोग आदि उपसम्प्रदायहरू पशुवलीका विरोधी मात्रै होइनन्, साकाहारी भोजनका पक्षपाती पनि हुन्। धार्मिक रूपमा नभएर मारकाटजन्य दृष्य देख्न नसक्ने र मन नपराउने तर भोजनमा मांशलाई स्वीकार गर्ने हिन्दूहरू पनि छन्। पशुबली नगर्ने तर खसी काटेर वा किनेर खाने पनि हुन्छन्। हिन्दू समाज यस्ता अनेक समूह भएकाले यसलाई सरल तरिकाले बुझ्न सकिन्न। यस्तो गिजोलिएको मात्रै नभएर बहुसंख्यक नेपाली हिन्दू नै भएको अवस्थामा अन्य धर्मका प्रचारकहरूको आँखा हिन्दू समाजमा पर्नु अस्वाभाविक होइन। यस्तो अवस्थामा धर्ममा बाह्य हस्तक्षेपको आशंका वा आरोप मात्रै हो भन्न पनि मिल्दैन।

हिन्दू समाजमा विभिन्न धार्मिक उपसम्प्रदाय वा गैरसम्प्रदायबीच हुने विचार विमर्श, टीका टिप्पणी, आरोप प्रत्यारोप तथा गुनासाहरू आन्तरिक मामिला हुन्। बहस र छलफल अनि सहमति र समझदारी पनि सम्बन्धित समुदायको विषय हो। यस विपरीत गैर हिन्दूहरूबाट हुने टीकाटिप्पणी बाह्य हस्तक्षेप हुन्। हत्याहिंसालाई पाप कर्म ठानी यसबाट विरक्त रहने अर्थात् अहिंसाको सन्देश दिने अन्य धर्मसम्प्रदायहरू पनि हुन्छन्। आआफ्नो धर्मसंस्कृति आआफूले मनाउने हो, अन्यले होइन। अहिंसाको कुरा अरू बेलामा पनि गर्न सकिन्छ, दशैं नै पर्खेर बस्नु पर्छभन्ने छैन। अरू बेला अहिंसाको कुरा राख्दा अझ प्रभावकारी हुन्छ र स्थायी पनि हुनसक्छ। दसैंको छेको पारेर मात्रै अहिंसाको कुरा गर्दा दसैं चाड वा हिन्दू धर्मकै विरोधको सन्देश प्रवाह हुन्छ। गलत अर्थ दिने खतरा रहन्छ। यस्तो अवस्थामा दसैंमा हुने हिंसा अझ बढ्ने र जड रूप लिने संभावना पनि उत्तिकै रहन्छ।

दसैंको छेको पारेर पशुअधिकारवादी तथा साकाहारी अभियानका अभियन्ताहरूले चलाउने पशुवलीविरूद्धको अभियानमा बौद्ध भिक्षुहरूको प्रयोग बढ्दो छ। बौद्ध धर्मको अभ्यासमा हिंसालाई ठाउँ नदिएको मात्रै नभएर पापकर्मको रूपमा व्याख्या गरिएका कारण अहिंसाको सन्देश दिनु बौद्ध भिक्षुहरूको कर्तव्य पनि हुन्छ। यद्यपि दसैं छेक हुने पशुबलीविरूद्धका कार्यक्रमहरू द्वन्द्व सिर्जना गर्ने प्रकृतिका छन्। किनभने बौद्ध भिक्षुहरूलाई आमन्त्रण गर्ने संघसंस्था वा व्यक्तिको उद्देश्य बौद्ध भावनासँग खासै सरोकार रहेको पाइँदैन। बौद्ध भिक्षुहरूलाई खेताला बनाएको मात्रै हो। यसलाई बौद्ध भिक्षुहरूको दुरूपयोग पनि भन्न सकिन्छ।

हिंसाविरूद्ध यस्तो बेलामा बोलिने शब्दहरू हिंसात्मक हुने गरेको पनि पाइन्छ जुन बौद्ध आचरण अनुकूल हुँदैनन्। कुनै धर्मविशेषका विरूद्ध लाग्ने र आफ्नो धर्म फैलाउने मनसाय बौद्ध समाजको हुँदैन। बौद्धहरूको धर्म प्रचारको तरिका अरूलाई बदलेर नभई पहिला आफूलाई बदल्ने र त्यसबाट अरूलाई प्रभावमा पार्ने हो। यसका लागि कुनै पनि समय उपयुक्त मानिन्छ। दसैंको बेला, कसैको आमन्त्रणमा वा व्यक्तिगत रुचिले पशुबलि विरूद्धको कार्यक्रममा बौद्ध भिक्षुहरू सरिक भएका हुनसक्छन् तर बौद्धहरू संस्थागत रूपमा यसरी आएको पाइँदैन। बरू कतिपय बौद्ध विहारमा दसैंको अवसरमा काटिएका पशुहरूको सुगतिको कामना गर्दै ध्यानमा बसेका हुन्छन् अर्थात् पशुबलीका पक्षपातिहरूको मनसाय पनि ती जीवहरूको सुगति नै हो।

दसैंमा पशुवलीको औचित्य वा अनौचित्यको बहस महत्वपूर्ण छ तर यसको छिनोफानो गर्न बलमिच्याइँभन्दा व्यापक छलफल र विचार विमर्श हुनु जरुरी छ। हिन्दू धर्मभित्र एउटै मतवाद र पद्धतिहरू पनि अनेकौं भएका कारण सबैको अस्तित्वलाई स्वीकार्नु पर्ने हुन्छ। गैरहिन्दू समाजले पनि बाह्य हस्तक्षेपको बाटोबाट नभएर आआफ्नो ठाउँमा रही आआफ्नो सन्देश प्रवाह गर्नुपर्दछ। हिन्दू समाज हिजोको आजै यो रूपमा आएको नभएर सयौं वर्षको अन्तरालमा परिमार्जित र परिष्कृत हुँदै आएको कुरा ऐतिहासिक रूपमा पनि बुझ्न सकिन्छ। समयको क्रममा परिमार्जित र परिष्कृत हुने क्रमलाई कसैले रोक्न सक्दैन। त्यसैेले अरुको विरोध गर्दा आफूलाई पनि नियाल्नु जरुरी हुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *