रिबन

मुख्य समाचार : चुनावको मुखैमा पूर्वराजाको राजनीतिक सन्देश, उम्मेदवार छनोटमा दलहरुलाई सकस

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि सञ्चालनमा ल्याएको प्रेस अफिसले सञ्चार माध्यमको नियमन नगर्ने प्रष्टीकरण गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम एवं सामाजिक सञ्जालमाथि अनुगमन गर्ने र कारबही गर्ने प्रक्रियामा संलग्न नहुने बताएको हो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन प्रभावकारी बनाउने काम आयोगको प्रेस अफिसबाट हुने बताएका छन् । शुक्रबार आयोगमा प्रेस अफिस उद्घाटन गर्दै थपलियाले सामाजिक सञ्जालको अनुगमन विभिन्न ठाँउबाट गर्नुभन्दा पनि एकीकृत रूपमा प्रेस अफिस अफिसबाटै गरिने बताएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीबाटै चुनाव लड्ने भएका छन् । यसअघि उनले धुनषा–३ बाट चुनाव लड्ने अडान लिँदै आएका थिए । तर, नेकपा एमालेले धनुषा छाड्न नमानेपछि उनी सर्लाहीबाटै चुनाव लड्ने भएका हुन् ।

पछिल्लो समय पार्टीको सबै पावर आफूमा केन्द्रित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार चयन गर्ने एकलौटी अधिकार पाएका छन् । बिहीबार मध्यरातसम्म चलेको नेकपा एमालेको सचिवालय बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल देशी–विदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादशैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ ।

प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ। असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको छ ।

काठमाडौंको गोठाटारमा गत ४ असोजमा भएको लाल मोहम्मदको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले एक युवतीसहित तीन जनालाई पक्राउपछि आज (शुक्रबार) सार्वजनिक गरेको हो । उनीहरु सबैको उमेर २१ वर्षमुनि रहेको प्रहरीले जानकारी दिएको छ ।

यस वर्षको दसैँका दिन देशभर वर्षा हुने अनुमान गरिएको छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दसैँमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ । गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार युक्रेनका थप चारवटा क्षेत्रलाई आफ्नो देशमा गाभ्ने उद्देश्यले एउटा हस्ताक्षर समारोह आयोजना गर्ने भएका छन् । रुसी नियन्त्रणमा रहेका ती क्षेत्रमा भएको भनिएको जनमतसङ्ग्रहपछि पुटिनले उक्त विलयसम्बन्धी समारोहको गर्न लागेका हुन् ।

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप लगाएकी छिन् । रुसले युक्रेनी कब्जामा रहेका चार वटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेका वेला बेलायतले त्यसको विरोध गरेको हो ।

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इयुको ‘उड्डयन सुरक्षा सूची’मा रहेको नेपाल हट्ने विश्वास लिइएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दसैँलगत्तै इयुको प्राविधिक टोली नेपाल आएर हवाई क्षेत्रको अडिट गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *