सम्पादकीय

शुभ बनोस् दशैं

लगातार दुई वर्ष कोरोना र यसपटक डेंगुका कारण नेपाली जनताले निकै सास्ती खेपिरहेका छन् । त्यसमाथि विश्वभर देखिएको आर्थिक मन्दीका कारण नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । जसकारण अहिले आमनेपाली आर्थिक मन्दीबाट गुज्रिरहेका छन् ।

गत वैशाखमा स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण अहिले देशभर चुनावी माहोल तातेको छ । यहीबेला नेपाली जनता बडादशैंको रमझममा लागेका छन् । दशैं मनाउन विदेश गएका स्वदेश फर्किरहेका छन् भने विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरू घर फर्कन थालेका छन् । दशैंमा २० लाख मानिसले काठमाडौं छाड्दैछन् ।

दशैं त्यसै पनि खर्चालु चाड हो । सबैले आफ्नो गच्छेअनुसार चाडपर्व मनाउने गर्छन् । तर, यसपटक चुनाव सन्निकट भएकाले पनि दशैंको माहोल केही फरक हुने निश्चित छ । त्यसैले आमनेपाली यसपटक चुनावी प्रचार प्रसार र भेटघाटसँगै दशैं मनाउने अवस्थामा पुगेका छन् । हरेक वर्ष दशैं आउँछ जान्छ । हुने खानेले राम्रै गरी दशैं मनाउँछन् । गरिब विपन्न वर्गका मानिसलाई ऋण बोकाएर जान्छ । तर, पनि कोही दुःखी भएको देखिन्न । त्यसैले पनि दशैंको महत्व नै फरक छ ।

दशैं नजिकिएसँगै दुर्घटना र प्राकृतिक विपत्तिका घटना नेपालमा प्रत्येक वर्ष हुने गरेको छ । यो नियमित जस्तै छ । सडकको पूर्वाधार बन्न नसकेकाले भिडभाडका कारण सवारी दुर्घटना हुँदा दर्जनौंले ज्यान गुमाउँदै आएका छन् । दशैं सुरु भएसँगै एक् दर्जनले ज्यान गुमाइसकेका छन् ।

हरेक वर्ष लाखौं मानिस दशैंका बेला सडकमा ओहोर दोहोर गर्छन् भन्ने चेत नेताहरूमा पलाउन सकेको देखिन्न । नत्र उनीहरूले सडक पूर्वाधार बनाउनुपर्ने हो । त्यसैले त्यस्तो चेत नआउने नेताहरूलाई बिदाइ गर्नुपर्ने बेला आगामी निर्वाचन हो ।
नेपालको राजनीतिमा सधैं बुढा नेताहरूको मात्र हालीमुहाली चल्दै आएको छ । युवाहरूले मौका नै पाएका छैनन् ।

अलिकति सम्भावना बोकेका युवाहरूलाई विभिन्न षड्यन्त्र र परिबन्धमा पारी माथि उठ्नै दिइँदैन । त्यसैले दलहरूको प्रताडनाका कारण अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको दबदबा देखियो । त्यो आगामी निर्वाचनमा पनि कायम नै रहने देखिएको छ । कम्तीमा पनि यसपटकको दशैंमा आफ्ना घर गएका नेपालीहरूले परिवर्तन घरघर र परिवारबाट हुनुपर्ने सन्देश दिन सक्नुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *