समाचार

गल्छी–देवीघाट’ सडक अठ्ठाइस घण्टापछि सञ्चालनमा

‘काठमाडौं । रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ बुधसिंहमा पहिरो गएर अबरुद्ध भएको सडक शुक्रबार रातिदेखि सञ्चालनमा आएको छ । बिहीबार अपराह्न सुक्खा पहिरो गएसँगै अवरुद्ध भएको सडक २८ घण्टापछि सञ्चालनमा आएको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’को कार्यालयका निमित्त प्रमुख रामबिहारी चौधरीले जानकारी दिए ।

उनको अनुसार चारवटा हेभी उपकरणको सहायताले लगातार १४ घण्टाको प्रयासमा सडक सुचारु गरिएको हो । “सडक माथिबाट आएको ढुङ्गामाटो पन्छाएर तत्कालका लागी सडक खुला गरिएको छ”, चौधरीले भने , “थप पहिरोको जोखिम कायमै भएकाले आउजाउ गर्दा सावधानी अपनाउनुपर्दछ ।”

अवरुद्ध भएको २८ घण्टापछि सडक सुचारु भएसँगै नुवाकोट र रसुवाको गन्तव्यमा जान रोकिएका सवारी साधन सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिए । उनको अनुसार अझै पनि उक्त स्थानमा पहिरेको जोखिम देखिएकाले ट्राफिक प्रहरीको उपस्थितीमा जोखिम अबस्था हेरेर सवारीसाधन आउजाउ गराइएको छ ।

‘गल्छी–देवीघाट सडक खण्ड’ अन्तर्गत पर्ने उक्त स्थानमा गएको वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’अन्तर्गतको दाँयाबाँया ११ मिटरको व्यवस्थित सडक निर्माण गरिएको थियो । सोही समयमा पनि पहिरो गएकाले आकस्मिक नियन्त्रणको काम गरे पनि त्यो प्रभावहीन देखिएको हो ।

“सडकको करिब पाचसय मि माथिबाट खसेको सुक्खा पहिरोले दायाँबायाँ दुईसय मि सडक जोखिम बनाएको छ ।” योजना कार्यालयका नि प्रमुख चौधरीले भने , “सडकतल त्रिशूली नदी छ । अन्य वैकल्पिक सडक नभएकाले पहिरो रोकथामको लागि विशेष योजना सञ्चालन गर्न रिपोर्ट तयार गर्ने छौँ ।” ‘गल्छी–रसुवागढी सडक योजना’ विस्तारको क्रममा गल्छी, जिलिङ र तिरतिरे भिरमा ठूलो पहिरो उत्पत्ति भएकाले त्यहाँ थप ठेक्का लगाएर नियन्त्रणको काम भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *