रिबन

दशैः आज कालरात्रि देवीको उपासना गरिँदै

काठमाडौं। आज बडा दसैंको सातौ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।
पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको संहार गर्न भगवती दुर्गाले कालरात्रि अवतार धारण गरेकी थिइन् । सप्तमीको बिहानै नित्य कर्मपछि अरु देवीको जसरी नै पूजाआराधना गरिन्छ ।

करालवन्दना धोरां मुक्तकेशी चतुर्भुजाम् ।
कालरात्री करालिंका दिव्यां विद्युतमाला विभूषिताम् ।।

शास्त्रानुसार कालरात्रीको स्वरुप कालो र भयभित गर्नेवाला छ । कपाल फिजाएको छ भने उनको चार हात छन् । विद्युतको माला लागाएकी यस्ती कालरात्रीको काल पनि डराउने स्वरुप रहेको छ ।
चार हातमध्ये एक हातमा तरवार एकमा काटिएको शीर र अर्को हालमा काटिएको शीरबाट चुहिएको रगत थाप्न कचौरा लिएको यस्तो स्वरुप देवी कालरात्रीको रहेको छ । देवीको जति डरलाग्दो स्वरुप छ त्यति नै शुभफल पनि दिने भएकाले कालरात्रीलाई शुभांकरी पनि भनिन्छ ।

कालरात्रीको उपासनाले मनभित्र र बाहिरका हरेक डर त्रास समाप्त हुने विश्वास गरिन्छ । ज्योतिष शास्त्रमा शनिको प्रकोप हटाउन पनि कालीको उपसना गर्ने विधि रहेको छ ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।
नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुँइचो लाग्ने गर्छ । विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, भक्तपुरको नाला भगवती, काभ्रेको पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री भगवतीकाे क्रमशः पुजा आवाहान पश्चात् उक्त दिनकाे नित्य पुजापश्चात मध्यान्न काललमा नवपत्रिकाका रुपमा फुलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएको छ।

यद्यपि तुलजा भवानी रथ यात्राका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०:५ बजेकाे शुभ समय निर्धारण गरेकाे छ।

षष्टी तिथिका दिन साझकाे समयमा विल्व निमन्त्रणा गरेपछि सप्तमि तिथिमा नवपत्रिकाका रुपमा पुजाकाेठामा फूलपाति भित्र्याउने शास्त्रीय नियम रहिआएकाे छ।

‘कदली दाडिमी धान्या हरिद्रा मानकं कचु। विल्वाशाेकाै जयन्ती च विज्ञेया नवपत्रिका : ।।’

१ कदली- केराकाे पात २ दाडिमी – दाडिम (अनार) ३ धान्या – धान (बाला सहितको बाेट ) ४ हरिद्रा- हलेदाे ५ मानकं – ६ कचु ७ अशाेक ८ बेल ९ जयन्ती यसरी नाै प्रकारका अैाषधीय गुणले युक्त भएका जडिबुटीका रुपमा मध्याह्नकाे समय पारेर पुजाकाेठा या जमरा घरमा विधिपूर्वक दियाे,कलश गणेश स्थापना गरेर पञ्चाेपचार या षाेडषाे पचारले विधिपूर्वक पुजा गरेर शंख,घन्ट सहित बाजागाजा बजाएर मंगलधुन सहित नवपत्रिका भित्र्याउने नियम रहिआएको छ ।

वर्षा ऋतु समापन पछि शरद ऋतुमा नयाँ अन्न चढाउने नियम रहेकाले नवित्रिकाकाे विशेष महत्व रहेकाे छ । हाम्राे देश नेपाल वैदिक,हिन्दु तन्त्रात्मक सिद्ध भुमि भएकाले सदीयौंदेखि चल्दै आएका नियम र परम्परामा रहेर आफ्ना चाडपर्व हरु मनाउनु पर्छ भन्ने धार्मिक ग्रन्थ हरुमा व्याख्या भएकाे पाईन्छ । हिमाल,पहाड र तराई गरि तीन भागमा नेपाली हरुकाे बसाेवास रहेकाले पनि भूमि हनुसार उपलब्ध बस्तुहरु पुजाघरमा भित्र्याउने र पुजागर्नुपर्ने शास्त्रीय नियम रहिआएको । यसरी भित्र्याउने फुलपाति सुकेपछि धुलाेबनाएर शुद्ध गाईको ध्यूले माेलेर बर्षदिन धुपका रुपमा प्रयाेग गर्ने पनि नियम रहिआएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *