सम्पादकीय

पहिले प्रचण्ड, अहिले उपेन्द्रको भूमिका एउटै, जसपाका मन्त्रीहरू क्याबिनेटमा किन जान्छन् ?

पाँच वर्षअघि माओवादीले जस्तो चरित्र निभाएको थियो, अहिले ठ्याक्कै उपेन्द्र यादवले पनि त्यही चरित्र निभाएका छन् । २०७४ सालको निर्वाचनको मुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सरकारमा रहेकै बेला एमालेसँग वाम तालमेल गरेका थिए । चुनावको मुखमा सरकारमा पनि बस्ने अनि विपक्षी दलसँग गठबन्धन गर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूको भूमिका खोसेर विना विभागीय बनाइदिएका थिए । विना विभागीय बनाइदिएपछि प्रचण्डका मन्त्रीहरू क्याबिनेटमा सहभागी हुनबाट वञ्चित भएका थिए ।

अहिले उपेन्द्र यादवले पनि एमालेसँग तालमेल गरेपछि सरकारमा रहेका उनका मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने आवाज उठेको छ । पछिल्लो समय नेपालको राजनीतिलाई विकृत र कुरुप बनाउने पात्रमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि पर्छन् । पटक पटक पार्टी फेर्ने उनको चरित्र अहिले पनि उस्तै छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा रहेका उपेन्द्रले ठूलो भाग खान प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेका छन् । यदि नेताहरूमा अलिकति पनि नैतिकता हुन्थ्यो भने जसपाका मन्त्रीहरूले तुरुन्तै पदबाट राजीनामा दिएर बाहिरिनुपथ्र्यो । तर, त्यतिको नैतिकता उनीहरूले प्रस्तुत गर्न सकेनन् । बरु उल्टै उपेन्द्र यादवले आफ्ना मन्त्रीहरूलाई नचलाउन प्रधानमन्त्री देउवासँग याचना गरिरहेका छन् ।

सरकारमा जसपाबाट प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई मन्त्री छन् । विपक्षी मोर्चामा भए पनि यी मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाले किन मन्त्रिपरिषद् बैठकमा सामेल गराइरहेका हु्न् भन्ने बुझ्न सकिएको छैन । क्याबिनेटमा भएका सबै गोप्य कुरा र निर्णय जसपाका मन्त्रीहरूले बाहिर लैजाने गरेका छन् । त्यसैले अहिले जनस्तरमै जसपाका मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने आवाज उठ्न थालेको छ । एमाले नेता भीम रावलले जसपाको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले सरकार र विपक्षी दुवै मोर्चामा बस्ने भन्दै नैतिकता देखाउन भनेका छन् ।

पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको छलफल हुँदा उपेन्द्रको पार्टीलाई १९ सिट दिने सहमति भएको थियो । १८ सिटमा कुरा मिलिसकेको थियो । तर उपेन्द्र निहुँ खोज्दै एमालेसँग मिल्न पुगे । एमालेसँग १७ सिटमा तालमेल गर्न पुगे । तर, रौतहटमा जसपाले पाएको सिटमा एमालेका प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि बबन्डर मच्चिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *