समाचार

तीन वर्षपछि पुरानै लयमा फर्कियो बेनी बजार

म्याग्दी । ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल…’
चर्चित यो गीतका हरफमा भनिएझैं जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।

कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ ।

बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल भइरहेको छ । खेल हेर्न विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी दर्शक बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।

पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमाल जस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् ।

विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उनले जानकारी दिए ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

उनका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारिबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारिबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारि बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उनको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।

बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा विसं २०६८ को जनगणनाको तथ्याङ्कानुसार दुई हजार घरधुरी र सात हजार जनसंख्या रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट