सम्पादकीय

अब कांग्रेसकै वरिपरि नेपालको राजनीति

देश आमनिर्वाचनको पूर्वसन्ध्यामा छ । प्रमुख दलहरूले चुनावी प्रचार प्रसारमा तीव्र पारेका छन् । सत्तागठबन्धन र विपक्षी गठबन्धनले आ–आफ्नै ढंगबाट चुनावी संयन्त्र परिचालन गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले प्रदेश १, मधेस प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त भेला तथा प्रशिक्षण सकेको छ ।

अब लुम्बिनी र बागमती प्रदेशमा कार्यक्रम हुन बाँकी छ । सबै भेलामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धन जोगाएर जानुपर्ने धारणा राखे । उनीहरूले गठबन्धनमा भएको भागबन्डालाई लिएर असन्तुष्ट भई एक अर्काे पार्टीको चुनाव चिन्हमा मतदान नगर्न गरिएको आग्रहलाई चिर्दै गठबन्धनका उम्मेदवार जो जहाँबाट उठेका छन्, उनीहरूलाई जिताउन नै भूमिका खेल्नुपर्ने बताएका छन् । सबै भेलामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं उपस्थित भएका छन् । यसले कांग्रेसमा देखिएको विवाद र असन्तुष्टि केही मत्थर हुने अनुमान गरिएको छ ।

नेपाली कांग्रेस देशकै पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति हो । कांग्रेसप्रति स्वदेशमा मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि उत्तिकै विश्वास र भरोसा गरेका छन् । देशमा कम्युनिस्ट पार्टीका छलकपट र विश्वासघातबाट वाक्कदिक्क भएका जनता कांग्रेसको एकमना सरकार देख्न चाहन्छन् । तर ६० प्रतिशतभन्दा बढी वामपन्थी मत भएकाले सजिलै कांग्रेसको एकमना सरकार बन्ने परिस्थिति नभए पनि अबको केही दशक कांग्रेस नेतृत्वमै सरकार चल्ने देखिन्छ । अहिले जुन ढंगले गठबन्धन बनेर गएको छ, यसले आगामी पाँच वर्ष गठबन्धन सरकार बन्ने पक्कापक्की भएको छ । किनभने माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी सबै अहिले कांग्रेसकै नेतृत्वमा गोलबद्ध भएका छन् । यसले के देखाउँछ भने कांग्रेस वरिपरि देशको राजनीति केन्द्रित हुँदैछ ।

हुन पनि एमाले अध्यक्ष केपी ओलीको निरंकुश र अधिनायकवादी शासन शैलीका कारण जनतामा कम्युनिस्टप्रति आसा र भरोसा सबै टुटेको छ । त्यसमा पनि ओलीको प्रतिगमनकारी सोच र व्यवहारका कारण देशले भरपर्दो र विश्वासयोग्य लोकतान्त्रिक सरकार देख्न चाहेको हो । त्यो कांग्रेसको नेतृत्वमा मात्रै सम्भव देखिएको छ । अहिले एमालेले दक्षिणपन्थी सोच बोकेका र पूर्वपञ्चहरूलाई बटुलेर हिँडेको छ । धार्मिक अन्धतातर्फ देशलाई धकेल्न खोजेको छ । त्यही भएर आगामी मंसिरमा हुने आमनिर्वाचनले पश्चगामी सोच बोकेका दल र त्यसका उम्मेदवारलाई पराजित गर्नैपर्ने देखिएको छ । जनता त्यो बाटो कुरेर बसेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *