ताजा समाचार

मिथिला क्षेत्रमा यसरी मनाइयो सामा चखेवा पर्व

काठमाडौं ।महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना)का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो ।

पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाई जोतिएको खेत र निर्जन वनमा गाडेर सोमबार राति समापन गरेका हुन् । यस अवसरमा दाजुभाइले परम्परा धान्दै गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र र नगद दक्षिणा दिएका थिए । सामाचकेवा पर्वका ११ दिन भए पनि यसपालि तिथिको भोग घटबढले १० दिनमै पर्व सम्पन्न भएको हो । मिथिला क्षेत्रमा मिथिलानीहरू (मिथिलाका नारी)ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाइने यो पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिन्छ ।

बोलीचालीको भाषामा ‘सामा खेल’ भनिने गरिएको यो ११ दिने पर्व दिदीबहिनी र दाजुभाइका लागि प्रतिक्षा, खुसी र आपसी सद्भाव व्यक्त गर्ने उपयुक्त अवसर मानिन्छ । पर्वका ११ दिनको मध्यरातसम्मको चकमन्न समयमा नगर गाउँबस्तीको चौबाटोमा समूहमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दुष्ट चरित्रलाई सत्तोसराप गरेर आपूmहरूबीच पवित्र र आत्मीय स्नेह रहेको दर्शाउनु पर्वको मुख्यपक्ष रहेको मिथिलानी बताउँछन् । गीतमार्फत आफूहरूप्रति दिदीबहिनीले दर्शाएका प्रेम र समर्पण भावले सधैँ उनीहरूप्रति स्नेह र समर्पण भाव दिने गरेको मैथिल युवाको भनाइ छ ।

दाजुभाइ दिदीबहिनीप्रति यस्तो प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पहिले द्वापर युगबाट सुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा)लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरू श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । साहित्यकार डा राजेन्द्रप्रसाद विमलले दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *