रिबन

कांग्रेसलाई घेर्न खोज्दा ओली आफैं चरम दक्षिणपन्थ भासमा

भनिन्छ रिसले आफूलाई खान्छ बुद्धिले अर्कोलाई । समयमै सही निर्णय गर्न नसक्दा र अर्काको रिस गर्दा आफ्नो अवस्था के हुन्छ भन्ने उदाहरण एमाले अध्यक्ष केपी ओली बनेका छन् । अघिल्लो निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत पाएर पनि ओलीले सरकार चलाउन सकेनन् । साढे तीन वर्षमै उनको सरकार ढल्यो । यही बीचमा साविकको नेकपा खारेज भयो । एमाले र माओवादी केन्द्र दुवै अस्तित्वमा आए । सर्वोच्च अदालतले परमादेश नदिएको भए एमाले र माओवादी पार्टी अस्तित्वमै आउँदैनथ्यो । आफ्नो सरकार ढाल्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र परमादेश दिएको भन्ने ओलीको पार्टी एमाले नै सर्वोच्चको परमादेशबाट जन्मेको हो ।

त्यसयता ओली हरेकपटक कांग्रेसमाथि खनिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायत कांग्रेससँग मिलेको ओलीले सहनै सकेका छैनन् । त्यही भएर कांग्रेसलाई घेर्न ओलीले चरम दक्षिणपन्थी पार्टी राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल, जसपाका उपेन्द्र यादव, हृदयेश त्रिपाठी जस्तासँग कार्यगत एकता गरेका छन् । यसले के देखाउँछ भने ओली अहिले चरम दक्षिणपन्थी भासमा जाकिएका छन् ।
उनले आरिस गर्दै आएको नेपाली कांग्रेस भने परिवर्तनको पक्षधर माओवादी, एकीकृत समाजवादी, लोसपासँग सहकार्य गरिरहेको छ । यदि चारदलीय गठबन्धन एकढिक्का भएर चुनावमा गयो र भोट डाइभर्सन भयो भने ओली पाँच वर्ष सडकमै राग अलापेर बस्नुपर्ने अवस्थामा पुग्नेछन् । चुनावी सभामा ओली जति जति कांग्रेस र कांग्रेसका नेतामाथि खनिन्छन्, त्यति त्यति उनको पार्टी र उम्मेदवार बढारिने निश्चित छ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले वाम तालमेल गरेका थिए । त्यति गर्दा पनि कांग्रेसले २३ सिट प्रत्यक्ष र समानुपातिकमा ४० सिट प्राप्त गर्दै दोस्रो ठूलो दल बनेको थियो । त्यसबेला पाँच सयदेखि पाँच हजार मतान्तरमा एमाले र माओवादीले ५० वटा सिट जितेका थिए । अहिले त एमाले आफैं विभाजित छ । माओवादी कांग्रेससँग मिलेको छ । माधव नेपालको पार्टीले पाँच सयदेखि पाँच हजार एमालेको प्रत्येक निर्वाचन क्षेत्रमा भोट काट्यो भने मात्रै पनि एमालेको हरिबिजोग हुने निश्चित छ ।

त्यसमाथि माओवादीको बलमा एमालेले ३० भन्दा बढी सिट जितेको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाएको वडाध्यक्षको मतले पनि त्यो पुष्टि गरेको छ । एमाले आफैंले पनि आन्तरिक रूपमा ४५ देखि ५० सिट प्रत्यक्षमा जित्ने, ४० समानुपातिकमा जित्ने अपेक्षा गरेको छ । एमालेले स्वतन्त्र उम्मेदवारले कांग्रेसको भोट काट्ने र आफूले जसपा, माओवादीबाट आएका, राप्रपाको मत जोड्दा जित्ने आशा गरेको हो । तर, स्वतन्त्र उम्मेदवारले कांग्रेसको मात्र होइन, एमालेको पनि त्यतिकै मत काट्ने संकेत देखिन थालेको छ ।

यो सबै हुनुको मुख्य कारण ओलीकै कार्यशैली हो । यदि ओलीले पाँच वर्षसम्म सरकार चलाएको भए यस्तो अवस्था आउँदैनथ्यो । उनमा वैचारिक र सैद्धान्तिक स्खलनसमेत हुँदैनथ्यो । ओली विस्तारै हिन्दुवादी बन्दै गएका छन् । हरेक विचारलाई आत्मसात गर्दै जाँदा अब एमाले र ओलीमा वामपन्थ विचारधारा भने च्यूत बन्ने निश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *