समाचार

दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

कीर्तिपुर। करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार (लायकु) पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर लोप हुने अवस्थामा पुगेको थियो ।

कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो भागमा रहेको उमामहेश्वर मन्दिरसहितको लायकु दरबारलाई पहिलेकै जस्तो बनाउने माग सम्पदा प्रेमीले विगत तीन वर्षअघिदेखि गर्न थालेका थिए । यसैअनुसार कीर्तिपुर नगरपालिकाले लायकु दरबारको केही भाग बनाउन बजेट छुट्याएको थियो । सोहीअनुरुप परम्परागत नेवारी इँटा (दाची अपा) र मध्यकालीन शैलीका झ्याल प्रयोग गरी पुनःनिर्माण गर्न थालिएको छ ।

कीर्तिपुर–१ का अध्यक्ष हीरालाल महर्जनका अनुसार नगरपालिकाले छुट्¥याएको करिब रु तीन करोडको बजेटमा दरबार बन्दैछ । नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो । सोहीबमोजिम महर्जनसहितका १६ स्थानीयवासीले लायकु दरबारसम्बन्धी ऐतिहासिक दस्तावेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए ।

त्यसमा सन् १८५५ मा नेपाल आएका पश्चिमा यात्री हेनरी वल्डफिल्डले लायकु दरबारको भग्नावशेषसहित तयार गरेको स्केच पनि समावेश छ । पञ्चायती व्यवस्था लागूभएपछि लायकु त्यस क्षेत्रको अग्लो स्थानमा रहेको उमामहेश्वर मन्दिर र आसपासका क्षेत्रलाई समेटेर लायकु गाउँ पञ्चायत बनाइएको थियो । विसं २०५४ मा नगरपालिका बन्दा सो क्षेत्रलाई वडा नं १ र २ कायम गरिएको थियो ।

अहिले बन्न लागेको दरबार पुरानै आकारमा सम्भव नभए पनि त्यसको एक अशं निर्माण हुने जानकारी लायकु दरबारबारे विशेष जानकार शुद्धरत्न महर्जनले दिनुभयो । “पुरानो दरबार क्षेत्रभित्र २१ निजी घर बनेका छन्”, उहाँले भन्नुभयो ।

महर्जनका अनुसार कीर्र्तिपुरको दरबार क्षेत्र (लायकु) नेपाल संवत् ८०१ मा श्री निवास मल्लले निर्माण सम्पन्न गर्नुभएको बताइन्छ । सो दरबार विसं १८२२ मा कीर्तिपुर र गोर्खा फौजबीचको लडाइँमा ध्वस्त भएको जानकार बताउँछन् । त्यसपछि राज्यले तर्कराज गुरुराज पण्डितलाई उक्त स्थानको रेखदेख गर्ने आदेशसहित विर्ता दिएको महर्जनले बताउनुभयो ।

पछि पण्डितले दरबार क्षेत्र अतिक्रमित भइरहेको भन्दै सरकारमा उजुरी हालेको इतिहासमा भेटिएको पनि महर्जनले बताउनुभयो । केही दशक अघिसम्म दरबारको चारैतिरका पर्खाल देखिने गरेकामा क्रमशः अतिक्रमित हुँदै गई निजी घर बनेको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *