फिचर

हुप्सेकोटका पहिरो विस्थापितलाई जाडो कटाउने चिन्ता

मध्यविन्दु । हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरोपीडित घरपरिवारलाई राखिएको स्थानमा शुक्रबार बिहानसम्म पनि चुनावी रौनकले छुनसकेको छैन ।

गत वर्ष आएको पहिरामा परी विस्थापित भएका १८ घरपरिवार राखिएको बस्तीमा अझैसम्म अभाव र अन्योल मात्र देखिन्छ ।

गत वर्षको असार २४ गते पहिराले विस्थापित गरेपछि बेलुवाको चौरस्थित जनता मावि र पत्थर खोलाको किनार हुँदै अहिले हुप्सेकोट–१ जुकेपानीको करिब दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कोतिर बासको चिन्ता, बालबालिकालाई चिसोबाट जोगाउनु, दैनिक खानेकुृराको जोहो गर्नुजस्ता चुनौतीमाथि चुनौतीको चाङ थोपरिएका यहाँका बासिन्दालाई चुनावी रौनकले कुनै प्रभाव पार्न सकेको छैन ।

“बागखोर पहिरोपीडित बासिन्दालाई न दसैँ लाग्यो नत तिहार नै लाग्यो न अहिलेको चुनावी माहोलले छोएकै छ”, स्थानीय तिलबहादुर सोमै मगरले भने, “हामीलाई भोट हाल्नेभन्दा पनि बिहान–बेलुकाको गाँसको जोहो गर्नु नै महत्वपूर्ण छ ।”

मङ्सिर ४ आउन तीन दिन मात्र बाँकी छ नेताहरू घरदैलो र चुनावी कोणसभामा व्यस्त छन् तर यहाँ आश्रय लिएर बसेका बासिन्दाको एउटै चिन्ता छ, अब जाडो कसरी काट्ने रु हुप्सेकोट–५ बागखोरमा गत वर्ष पहिरासँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उक्त गाउँका १८ घर मगर समुदायका बासिन्दा विस्थापित हुन पुगे ।

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा शरण लिएर बसेका छन् । गाउँपालिकाले निर्माण गरिदिएको अस्थायी घरमा उनीहरू आश्रय लिइरहेका छन्। विस्थापित १८ घरपरिवारको दैनिक जीवन अहिले ज्याला मजदुरी गरेर बितेको छ । ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्टमा उनीहरूको बास काट्ने थलो भएको छ । बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि अबको जाडो कसरी काट्ने चिन्ता ती विस्थापितहरुमा छाएको छ ।

गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्टको सानो टहरो र खाली चौरमै जाडो यामा बिताउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

जाडो लागिसक्यो खासगरी सुत्केरी महिला र ज्येष्ठ उमेरका बूढाबूढीको हेरचाहमा समस्या हुने गरेको सोमै मगरले बताए ।

सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ । पहिरोपीडितको एउटै चाहना छ, कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो । उनीहरू बस्दै आएको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो ।

अहिले ती जमिनमात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ ।

पहिरोपीडितको एउटै स्वर छ– पहिराले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जानसक्ने अवस्था पनि छैन । पहिरो विस्थापतिलाई अहिलेसम्म व्यवस्थापन गर्दै आएकामा अब स्थायी व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारले नै विशेष पहल गर्नुपर्नेमा गाउँपालिकाको अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जोड दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *