निर्वाचन-२०७९

एकपछि अर्को एमालेका हस्ती पराजित हुने शृंखला रोकिएन

काठमाडौं । निर्वाचनका क्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘एमालेले प्रत्यक्षमा सय र समानुपातिकमा ५० गरी डेढ सय सिट जित्छ । बहुमतको सरकार बनाउँछ ।’ तर, निर्वाचनको परिणामले ओलीको त्यो दम्भलाई तोडिदिएको छ । जारी मतगणनाअनुसार एमालेले प्रत्यक्षमा ५० सिट पनि नल्याउने देखिएको छ । यही परिणामले एमालेले चुनावपछि सरकार बनाउने कल्पनामै सीमित हुने देखिएको छ ।

यो चुनावमा ओलीका विश्वासपात्र एकपछि अर्को गरी पराजित हुने संघारमा पुगेका छन् । कोही कोही पराजित पनि भइसकेका छन् । काठमाडौंबाट ईश्वर पोखरेल र राजन भट्टराई पराजित भइसकेका छन् । सर्वेन्द्र खनाल पराजयको डिलमा छन् । एमाले महासचिव शंकर पोखरेल जित्ने सम्भावना निकै कम छ । दाङ २ मा माओवादीकी रेखा शर्माको अग्रता छ । मोरङ ३ बाट भानुभक्त ढकाल पराजित हुने निश्चित देखिएको छ ।

उनी कांग्रेसका सुनिल शर्माभन्दा धेरै मतले पछाडि छन् । भक्तपुर २ मा महेश बस्नेतको जित अझै कन्फर्म छैन । कांग्रेसका दुर्लभ थापाले उनलाई पछाडि पारिरहेका छन् । काभ्रे २ मा गोकुल बासकोटा अहिलेसम्म पछि छन् । अहिलेकै अनुपातमा मत खसेमा बासकोटा पनि जित्ने सम्भावना छैन । तर, पनि मत गन्न धेरै बाँकी छ ।

झापा १ बाट ओलीका भित्रिया अग्नि खरेल पराजित हुने निश्चित जस्तै छ । खरेललाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले १२ हजार मतले पछाडि पारेका छन् । ओलीलाई सधैं राजनीतिमा सहयोग र साथ दिँदै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि हार्ने भएका छन् । उनलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पछाडि छाडेकी छन् ।

माधव नेपाललाई बीचमै छाडेर ओलीको दौराको फेर समाउन आइपुगेका शेरबहादुर तामाङलाई कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले हराउने भएका छन् । तामाङ बस्नेतभन्दा धेरै मतले पछि छन् । बस्नेतले १३४८६ र तामाङले ८०२०७ मत पाएका छन् । एमालेका १० भाइमध्ये गोकर्ण विष्टले मात्र अहिलेसम्म जितेका छन् । योगेश भट्टराई पछाडि नै छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *