निर्वाचन-२०७९

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए ।

केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य आङ्गेलु शेर्पा र जिल्ला सभापति नामगेल जाङ्बु शेर्पाले असहयोग गरेको केसीका स्वकीय सचिव बेदप्रसाद बनले बताए ।

‘केन्द्रीय सदस्य र जिल्ला सभापतिकै डिजाइनमा हराउने काम भयो । गठबन्धनलाई हराऔं अभियानमा लागे’ उनले भने ।

गत निर्वाचनमा जितेको आधारमा सोलुखुम्बु माओवादीको भागमा परेको थियो । महामन्त्री गगन थापा र नेता डा. शेखर कोइरालाको पहलमा केसीका लागि छोड्न माओवादी तयार भएको थियो । प्रदेशतर्फ भने दुवै क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । केसीले टिकट पाउने भएसँगै कांग्रेसकै संस्थापन पक्ष असन्तुष्ट बनेको इतर पक्षको दाबी छ । प्रतिनिधिसभाको उम्मेदवारका लागि पार्टीले केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको नाम सर्वसम्मतले सिफारिस गरेको थियो ।

जिल्लाबाट प्रत्यक्षमा केसीको नाम सिफारिस नभएपछि उनले असन्तुष्टि व्यक्त गरेका थिए । केन्द्रीय सदस्य आङ्गेलु र जिल्ला सभापति नामगेल जाङ्बु पार्टीभित्र संस्थापन पक्षका हुन् ।

२०७४ सालमा केसी माओवादीका केन्द्रका हेमकुमार राईसँग पराजित भएका थिए । यसपटक केसी एमालेसँग पराजित भए । माओवादी केन्द्रले संघीय सांसदमा उम्मेदवार नपाएपछि केसीको पक्षमा सक्रिय सहयोग नगरेको केसी पक्षको बुझाइ छ ।

सोलुखुम्बुमा स्थानीय तहको मतमा कांग्रेस पहिलो दल बनेको थियो । कांग्रेसको पक्षमा १९ हजार ६८ मत थियो । एमालेले १६ हजार ५९७ मत ल्याएको थियो । तेस्रो शक्ति माओवादी केन्द्रको १२ हजार ४२५ मत थियो । ‘हराउनका लागि बकाइदा प्रमाण छ । गठबन्धनलाई हराऔं अभियानमा लागेका मेसेजहरु छन्’ बनले भने ।

बिहीबार सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फका उम्मेदवार केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । पहिलो र तेस्रो शक्ति मिल्दा समेत केसी पराजित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *