
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म एक सय ५५ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । जसमा कांग्रेसले ५३ सिट जितेको छ । अझै तीन क्षेत्रमा अग्रता लिएको छ ।
बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना नै भएको छैन । बाजुरा र स्याङ्जा २ मा आफूले जित्ने कांग्रेसले सूचीमा राखेको छ । यसरी कांग्रेसले ५८ सिट प्रत्यक्षमा जित्ने देखिन्छ । जसअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । प्रदेशतर्फ पनि कांग्रेस ठूलो पार्टी बनेको छ ।
सातमध्ये चार प्रदेशमा कांग्रेस पहिलो दल बनेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस ३२९ पालिका जित्दै पहिलो बनेको थियो । अब प्रदेश र प्रतिनिधिसभातर्फ पनि कांग्रेस नै पहिलो दल बन्ने निश्चित भएको छ ।
प्रतिनिधिसभातर्फको परिणाम अन्तिम चरणतिर पुग्दा अघिल्लो निर्वाचनको समग्र शक्ति सन्तुलनमा उथलपुथल देखिएको छ । कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो, दोस्रो र तेस्रो दल हुने निश्चित छ । तर, प्रदेशगत रूपमा ठूला दलका लागि परिणाम सन्तोषजनक छैन । यससँगै संघीय संसद्को प्रादेशिक शक्ति सन्तुलनमा पनि व्यापक हेरफेर भएको छ ।
चौथो शक्तिका रूपमा उल्लेख्य सिटसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ । पहिलो दलका रूपमा कांग्रेसले बागमती र गण्डकीबाट प्रतिनिधिसभामा सशक्त उपस्थिति जनाउँदा स्वतन्त्र पार्टीले दोस्रो दल एमालेले भन्दा बढी सिट जितेर बागमतीबाट कांग्रेसपछि जबर्जस्त उपस्थिति जनाएको छ ।
पाँच वर्षअघि दोस्रो दलमा खुम्चेको कांग्रेसलाई अहिलेको अवस्थामा ल्याएको जस पार्टी सभापति शेरबहादुर देउवालाई नै जान्छ । उनले कम्युनिस्टलाई विभाजन गरेर अहिलेको परिणाम हासिल गरेकोमा दुई मत छैन । विगतमा कांग्रेस सिध्याएको आरोप उनीमाथि लाग्दै आएको थियो । तर, यो निर्वाचनले त्यसलाई कांग्रेस ठूलो पार्टी बने पनि संघ र प्रदेशमा एकल बहुमत कुनै दलको पनि पुग्ने सम्भावना कम छ ।
त्यसैले विगतको जस्तै मिलिजुली सरकार बनाउनुपर्ने हुन्छ । अब नयाँ सरकार बनाउने कसरत सुरु भइसकेको छ । ठूलो दलको नाताले कांग्रेसको नेतृत्वमा सरकार बन्ने धेरै सम्भावना छ ।
जनताले निर्वाचनमार्फत दिएको सन्देश पनि सरकारको नेतृत्व कांग्रेसले नै गरोस् भन्ने हो । अब बन्ने सरकार जसको नेतृत्वमा बने पनि नेपालीको चाहना र राष्ट्रको आवश्यकताअनुसार राष्ट्रको हितमा काम गर्ने सरकार बन्नुपर्छ ।