निर्वाचन-२०७९

निर्वाचनको एक साता: अपेक्षाभन्दा कम नतिजा, सुस्त गणनाको जिम्मेवार को?

काठमाडौँ ।निर्वाचन भएको एक साता बितिसक्दा पनि अझै १४ वटा क्षेत्रको प्रतिनिधि सभा प्रत्यक्षतर्फको मत परिणाम आएको छैन।

निर्वाचन आयोगले मङ्सिर ४ गते भएको संसदीय निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने भनेको मिति मङ्गलवार पूरा हुँदै छ तर केही स्थानमा भने अझै पनि परिणाम सार्वजनिक हुने अवस्था छैन।

मत परिणाम सार्वजनिक गर्नका निम्ति आयोगसँगै अन्य निकायहरूको पनि उल्लेख्य भूमिका हुने र केही निकायबाट उचित समन्वय नभएका कारण परिणाममा ढिलाइ भएको अधिकारीहरूले बताएका छन्।

आयोगले निर्वाचन सम्पन्न भएकै दिन त्यसको एक साताभित्र प्रत्यक्षतर्फको सम्पूर्ण मत परिणाम सार्वजनिक गर्ने जनाएको थियो।

यद्यपि, विभिन्न जिल्लामा मतदान तथा मतगणनामा अवरोध पुगे पनि मङ्सिर १२/१३ गतेसम्म परिणाम सार्वजनिक गर्ने भनिएको थियो।

तर हालसम्म देशभर प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १५८स्थानको मात्र आधिकारिक मत परिणाम सार्वजनिक भएको छ। र, उल्लेख गरिएको मितिमा अन्तिम परिणाम सार्वजनिक हुने छाँट देखिँदैन।

निर्वाचन व्यवस्थापन गर्ने प्रमुख निकायको हैसियतमा आयोगले योजना बनाइ स्वाभाविक गतिमा मतगणना गरिरहेको सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

“शान्तिपूर्ण ढङ्गमा मतदान सकिएपछि सम्पूर्ण ठाउँको मतपेटिका प्राप्त हुन्छ र त्यसको ८ दिनभित्र मतगणना सकिन्छ भन्ने आकलन थियो। तर, त्यस्तो सम्भव भएन”, उनले मतगणनामा ढिलासुस्ती स्वीकार गरे।

त्यसो हुनुमा आयोग मात्र जिम्मेवार नभएको उनको ठहर छ।

किन सुस्त भयो गणना
प्राविधिक अड्चन, विवाद एवं झडप तथा अन्य जिम्मेवार निकायको असहयोगका कारण मतगणना समयमै सकिन नसकेको अर्यालको धारणा छ।

केही स्थानमा मौसमी खराबीका कारण मतदान सम्पन्न भएको तीन दिनपछि मात्र मतपेटिका सङ्कलन सम्भव भएको उनले बताए।

विशेषगरी हुम्ला, डोल्पाका हिमाली तथा उच्च पहाडी भेगहरूमा प्रतिकूल मौसमका कारण मतपेटिका सङ्कलन ढिला भएको हो।

त्यस्तै बाजुरा, दोलखा र स्याङ्जामा राजनीतिक विवाद र झडप भएपछि पुनः मतदानको माग भयो।

यसरी सबै स्थिति यथावत् रहेको खण्डका लागि गरिएको आकलन सिर्जित परिस्थितिसँग मेल नखाएको उनी बताउँछन्।

“सानातिना विवादमा अलमलिनु आयोगको योजनामा थिएन। सुधारको काम आयोगले मात्र गरेर हुँदैन। सबै निकायले जिम्मेवारीपूर्वक भूमिका निभाउनु पर्छ,” अर्यालले भने।

कुन दल कहाँ अगाडि?
आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस देशभर ५३क्षेत्रमा विजयी भएको छ भने गणना भइरहेको ठाउँहरूमध्ये ३ठाउँमा अग्रस्थानमा छ।

त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। देशभर ४२स्थानमा विजयी दलको हाल १वटा क्षेत्रमा अग्रता कायम छ।

नेकपा माओवादीले १७ठाउँमा जित हासिल गरेको छ भने नेकपा एकीकृत समाजवादीले १०ठाउँमा जितेको छ।

मधेस केन्द्रित दल जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी- यी तीन वटै दलले भने हालसम्म ७-७ वटा निर्वाचन क्षेत्रमा जितेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीले ४ ठाउँमा जितेको आधिकारिक तथ्याङ्क छ। एउटा क्षेत्रमा जित हासिल गर्नेमा नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी रहेका छन्।

देशभर ५ जना स्वतन्त्र रूपमा उठेका व्यक्तिहरू निर्वाचित भएका छन्।

निर्वाचन प्रक्रिया रोकिएको ठाउँमा कस्तो प्रगति?
मतदान वा मतगणना प्रभावित भएकामध्ये बाजुराको बुढिगङ्गा नगरपालिकामा मङ्सिर १० गते पुनः मतदान भयो।

त्यहाँ कांग्रेसले दुई बुथ कब्जा गरेको एमालेको आरोप छ भने कांग्रेस नेताहरू एमालेले चार बुथ कब्जा गरेको आरोप लगाएका थिए।

जसका कारण त्यहाँ दोहोर्याएर मतदान गरिएको हो।

बाजुरा जिल्लाकै त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागि एक जना कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको थियो।

झडपमा परी घाइते हुनेहरूमध्ये बाजुरा अनेरास्ववियुका नेता चेतन ऐडीको पनि उपचारका क्रममा मृत्यु भयो।

त्यहाँको विभिन्न मतदान केन्द्रहरूमा पुनः मतदान गर्नु पर्ने मागसहित करिब एक दर्जन निवेदन परेको बताइएको छ।

“ती स्थलहरूमा पुनः मतदानको आवश्यकताबारे छानबिन गर्न आयोगको टोली पुगेका थियौँ। अध्ययनको प्रतिवेदन बुझाएपछि मात्र मतदान फेरि गर्ने कि नगर्ने टुङ्गो लाग्छ,” सह प्रवक्ता अर्यालले भने।

स्याङ्जा क्षेत्र नम्बर २ मा मतपेटिका सङ्कलनपछि धाँधलीको आरोप लागेको थियो। त्यहाँको छानबिन प्रतिवेदन मङ्गलवार पेस हुने विश्वास गरिएको छ।

दोलखामा लागेको उस्तै प्रकृतिको आरोपबारे छानबिनपछि आयोग त्यहाँ पुनः मतदान गर्ने निचोडमा पुगेको छ।

“दोलखा जिल्ला १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ,” आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *