निर्वाचन-२०७९

स्याङ्जा र बाजुरामा पुनः मतदान वा गणना ?

काठमाडाैँ । दलहरूबीच विवादले मतदान भएको नौ दिन बितिसक्दा पनि गणना सुरु हुन नसकेको स्याङ्जा २ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा निर्वाचन आयोग नै अनिर्णीत बनेको छ । विवादित दोलखामा बुथ कब्जा भएका सात र मतपत्रको अधकट्टी हराएको तीन केन्द्रमा पुनः मतदानको निर्णय गरेको आयोग स्याङ्जा २ र बाजुरामा भने अनिर्णीत बनेको हो ।

मंगलबार पाँच घन्टासम्म बसेको बैठकमा आयुक्तहरूबीच राय बाझिँदा निर्णय हुन नसकेको एक आयुक्तले बताए । ‘दुईजना आयुक्तबाट आयोगको निष्ठाको सवाल भएकाले पुनः मतदान हुनुपर्छ भन्ने मत आयो । उहाँहरूको अडानका कारण निर्णयमा पुग्न सकिएन,’ उनले भने ।

बैठकको सुरुवातमा स्याङ्जा २ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन । वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो ।

निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरू बाँडिएका थिए । आयुक्तहरूले वस्तुस्थिति समेटिएको स्याङ्जा २ र बाजुराको प्रतिवेदन अध्ययन गर्दै राय राखेका थिए । केही आयुक्तले स्याङ्जामा मरेका मान्छेले पनि भोट हालेको भन्ने आएकाले त्यस्तो मतलाई कसरी सदर मान्न सकिन्छ भनेर तर्क गरेका थिए । केही आयुक्तले भने मतपेटिका उठाउँदासम्म दलहरूकै सहमतिमा प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको, मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

दुवै प्रतिवेदनमा आयुक्तहरूको मत बाझिएपछि प्रमुख आयुक्त दिनेश थपलियाले बैठक स्थगित गरेका थिए । राति साढे ९ बजेसम्म पनि सहमति नजुटेपछि उनले कानुन शाखालाई प्रतिवेदन थप अध्ययन गर्न दिने र बिहान ११ बजे बैठक बसेर निर्णय गर्ने भन्दै स्थगित गरेका हुन् । ‘स्याङ्जा र बाजुराबाट आएको प्रतिवेदनमा स्पष्ट हुन नसकेकाले थप अध्ययन गरी निर्णय गर्ने कुरा भयो । आज १ बजेसम्म निर्णय दिन्छौँ,’ प्रमुख आयुक्त थपलियाले भने ।

स्याङ्जा २ को हकमा आयुक्त ईश्वरी पौड्यालले जाँचबुझ टोली पठाउने निर्णयमै फरक मत राखेका थिए । कानुनमा मतदान अधिकृत र निर्वाचन अधिकृतबाट कैफियत नआएको ठाउँमा मतगणना गराउनुपर्ने भनेकाले जाँचबुझ टोली पठाउनु आवश्यक नरहेको र यसले सरकारको फजुल खर्च हुने धारणा राखेका थिए ।

आयोगका अनुसार स्याङ्जा २ र बाजुराका मुख्य निर्वाचन अधिकृतले मतदानका क्रममा कुनै समस्या नभएको प्रतिवेदन आयोगमा पठाएका थिए । पछि दलहरूबाट धाँधली भएको कुरा उठेको जानकारी गराएका थिए । बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुढीनन्दामा स्थगितबाहेक अरू ठाउँमा शान्तिपूर्ण मतदान भएको, दलहरूकै रोहवरमा मतपेटिका संकलन भएको र गणनामा सहमति हुन नसकेको, एमालेले १७ र कांग्रेसले १५ मतदान केन्द्रमा पुनः मतदान मागेको वस्तुस्थिति अवगत गराउँदै आयोगले आवश्यक ठानेमा जाँचबुझ गर्न सक्ने विकल्पसहित प्रतिवेदन पेस गरेको थियो ।

स्याङ्जा २ र बाजुराको हकमा प्रमुख दलहरू पनि विभाजित छन् । एमालेले यहाँका विवादित केन्द्रमा पुनः मतदानको माग गरेको छ भने कांग्रेसले मतगणना थाल्न आयोगको ध्यानाकर्षण गराएको छ ।

स्याङ्जा २ को चापाकोट नगरपालिका तथा बाजुराको त्रिवेणी, खप्तडछेडा, बुढीगंगा, बुढीनन्दा, हिमाली पालिकाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै केही दलहरूले पुनः मतदानको माग गरेका छन् भने केहीले कुनै विवाद नरहेको भन्दै गणना थाल्न माग गरेका छन् ।

स्याङ्जा २ र बाजुरामा के गर्ने भन्नेमा आयोगले निर्णय गर्न नसक्दा परिणाममा समेत ढिलाइ भएको छ । मंगलबार अबेर रातिसम्म १६१ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । समानुपातिक र प्रदेश सभाको मतगणना पनि अन्तिम चरणमा छ । १५ मंसिरमा पुनः मतदान हुने दोलखा, निर्णय नै हुन नसकेको स्याङ्जा २ र बाजुराका कारण आयोगले तोकेको समयभित्र अन्तिम मतपरिणाम नआउने भएको छ ।

१२ मंसिरभित्र गणना सक्ने र २२ गतेभित्र राष्ट्रपति कार्यालयमा अन्तिम परिणामको प्रतिवेदन बुझाउने आयोगको योजना धकेलिएको छ । ‘गणना भइरहेको सबै परिणाम बुधबारसम्म आउँछ । गणना हुन नसकेका ठाउँको अहिले नै भन्न सकिन्न,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘विवादित ठाउँको निर्णय भएपछि छिटोभन्दा छिटो गणना सकेर परिणाम निकाल्ने हाम्रो प्रयास रहन्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *