समाचार

कपिलवस्तुका सम्पदाको अनुसन्धानमा रामनिवासको योगदान स्मरण

काठमाडौं । कपिलवस्तुका पुरातात्विक सम्पदाको अध्ययन र अनुसन्धानमा संस्कृति एवं पुरातत्व विषयका अध्येता रामनिवास पाण्डेयले पु¥याएको योगदानको स्मरण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ पुरातत्वविद् प्रा डा रामनिवास पाण्डेयको १९औँ स्मृति दिवसका अवसरमा आज आयोजना गरेको ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरु’ विषयक विचार गोष्ठीका वक्ताले उहाँले त्रिभुवन विश्विद्यालय संस्कृति विभागमा पु¥याउनुभएको योगदानको पनि स्मरण गरेका थिए ।  

कार्यक्रममा प्रतिष्ठानका निमित्त कुलपति प्राज्ञ डा जगमान गुरुङले त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागसँग पनि मिलेर पाण्डेयका विषयमा अझै अध्ययन अनुसन्धान गरिने प्रतिबद्धता जनाए । 

प्रमाणका आधारमा प्राचीन कपिलवस्तु तिलौराकोटमै हो भन्ने प्रमाणित भएको र त्यसमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको  उनको भनाइ थियो  । इसापूर्व एक हजार ३०० वर्ष पहिलेको अवशेष कपिलवस्तुको उत्खनन्का बेला फेला परेकाले यसलाई पुष्टि गर्ने निमित्त कुलपति गुरुङले बताए । 

प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गैर अवधि मातृभाषी भए पनि अवधि भाषा र संस्कृतिको प्रवद्र्धनमा पाण्डेयको भूमिका महत्वपूर्ण रहेको जानकारी गराए  । नेपालले विश्वलाई दर्शन र सभ्यता दिए पनि प्रचारप्रसार गर्न नसक्दा ती दक्षिण एशियाको भनी स्थापित भएकाले अब यस्ता विषयमा ध्यान दिनुपर्नेमा  उनले जोड दिए । 

“हिमवत्खण्डले विश्वमा नेपालको आकर्षण बढ्यो, धेरै विदेशी आए, पुरातात्विक अन्वेषण सुरु भयो, नेपालको गरिमाका विषयमा विश्वको ध्यानाकर्षण भयो”, पूर्वकुलपति उप्रेतीले  भने  । अवधि सांस्कृतिक परिषद्का सल्लाहकार तपानाथ शुक्लाले पुरातत्वविद् पाण्डेयले पुरातत्व क्षेत्रमा जत्तिकै योगदान अवधि भाषा र संस्कृतिको विकासमा पनि गरेको सुनाए । 

कपिलवस्तुलाई पुरातात्विक स्थलका रुपमा स्थापित गर्न पाण्डेयले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको उनले बताए । कपिलवस्तुको सीमापारी विश्वविद्यालय, विमानस्थललगायत संरचनाको विकास भइसक्दा पनि नेपालतिरको भागमा गौतमबुद्धको जन्मस्थलका रुपमा चिनाउन उल्लेखनीय काम हुन नसकेको भनाइ शुक्लाले  राखे । 

आफ्नाबारेमा प्रचार गर्न नचाहने पाण्डेय ज्योतिष विद्याका पनि ज्ञाता  रहेको कार्यक्रममा  उनले सुनाए । प्रतिष्ठानका निमित्त सदस्य सचिव प्रा डा हेमनाथ पौडेलले पुरातत्व उत्खनन, अध्ययन, अनुसन्धान, चिन्तन र मननको विषय भएको  बताए । 

त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा डा सोमप्रसाद खतिवडाले पाण्डेयले स्थापना गरेको  विभागको सङ्ग्रहालय लथालिङ्ग भएको जानकारी गराए  । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त विभागको भवन स्रोतको अभावमा पुनःनिर्माण हुन नसकेको उनको  दुःखेसो छ । जसका कारण भवनमा पानी चुहिने समस्या छ । 

त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनको सुरुआत पनि पाण्डेयले नै गराउनुभएको खतिवडाले स्मरण गरे  । विभागमा गुणस्तरीयता कायम नगरे विघटनको खतरा रहेकाले पनि यसतर्फ सरोकार भएकाको ध्यान जानुपर्नेमा  उनले ध्यानाकर्णण गराएका थिए । 

विभागका पूर्वप्राध्यापक डा प्रेमकुमार खत्रीले पाण्डेयले अनुसन्धानलाई अध्ययनमा जोड्नुभएकाले पुरातत्व एवं संस्कृतिको महत्व बढेर गएको सुनाए ।  । पाण्डेय जुनसुकै पुरातात्विकस्थलमा पुग्दा पनि त्यससँग सम्बन्धित सामग्री सङ्कलन गरेर ल्याथिए । ती सामग्री एवं कागजातलाई उहाँ छुट्टाछुट्टै पोका बनाएर राखे  । एउटा पोकाबाट एउटा पुस्तक बन्ने आफूलाई पाण्डेयले सुनाएको  पनि खत्रीले कार्यक्रममा जानकारी गराए  ।

पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले ‘कपिलवस्तुका पुरातात्विक उपलब्धिहरु’ विषयमा प्रस्तुति गर्नुहुँदै सन् १९६२ देखि २०२२ सम्म कपिलवस्तु क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र उत्खननका उपलब्धिका बारेमा प्रकाश   पारेका थिए ।  

भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले सन् १९०१ मा कपिलवस्तु र लुम्बिनी क्षेत्रमा अध्ययन गरेर प्रकाशित गरेको प्रतिवेदनमा पनि तिलौराकोट नै प्राचीन कपिलवस्तु उल्लेख गरिएको सो अवसरमा उनले  जानकारी गराए  । तिलौराकोटमा सन् १९६२ देखि २०१० सम्म धेरै अनुसन्धान भएका थिए । तिलौराकोटलाई सम्भावित विश्वसम्पदा क्षेत्रका रुपमा राखी विभागले पूर्वाधार निर्माणका काम गरिरहेको जनाइएको छ । 

सन् २०१५ को उत्खननले तिलौराकोटमा ठूलो पोखरी भेटिएको छ । यही पोखरीबाट प्रभावित भएर राजधानी काठमाडौँमा पनि पोखरी र ढुङ्गेधारा निर्माण भएको हुनसक्ने अनुमान गरिएको प्रमुख पुरातत्व अधिकृत कुँवरले जानकारी गराए । उत्खननका क्रममा तिलौराकोटमा मौर्यकालका मुद्रा पनि भेटिएको थियो । विभागले तिलौराकोट क्षेत्रमा उत्खननसँगै संरक्षणको काम पनि गरिरहेको छ । 

अवधि सांस्कृतिक विकास परिषद्का सचिव विक्रममणि त्रिपाठीले पाण्डेय पुरातत्व विषयका नेपालमै पहिलो स्नातकोत्तर हुनुभएको उल्लेख गर्नुभयो । नेपालका दशनामी सन्यासी, नेपालको पौराणिक इतिहासलगायत पुस्तक पाण्डेयले लेखेको  पनि उनले जानकारी दिए । 

कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादवले विश्वविद्यालयमा पढाएर फुर्सदका समय कपिलवस्तु घर जाँदा पाण्डेयले तिलौराकोटका बारेमा अध्ययन अनुसन्धान गर्ने  गरेको स्मरण गरेको बताए  । प्राज्ञसभा सदस्य एवं सञ्चार तथा डायस्पोरा संयोजक शशि लुमुम्बूले पाण्डेयले नेपालको पुरातत्व तथा सांस्कृतिक क्षेत्रमा पु¥याउनु भएको योगदाका बारेमा चर्चा  गरेका थिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *