निर्वाचन-२०७९

मतगणना भइरहेका तीन वटै क्षेत्रमा एमाले पछाडि

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राखेका छन् । उनलाई निकटम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले २५ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् भने एमालेका अर्यालले २२ हजार २ सय १३ मत प्राप्त गरेका छन् । उनीहरुबीच ३ हजार ४ सय ४० को मतान्तर रहेको छ ।

दोलखामा पनि सत्ता गठबन्धनकै उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यहाँ नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीले अग्रता लिइरहका छन् । उनले १ हजार २ सय ३ मतान्तरले एमालेका बालकृष्ण सिवाकोटीलाई पछाडि पारेका छन् । यो समाचार तयार पार्दासम्म कार्कीले १० हजार ६२ मत प्राप्त गरेका छन् भने सिवाकोटीले ८ हजार ८ सय ५९ मत प्राप्त गरेका छन् ।

यस्तै, बाजुरामा पनि सत्ता गठबन्धनकै उम्मेदवार कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता लिइरहेका छन् । उनले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई १ हजार ९ सय ९१ मतान्तरले पछि पारेका छन् । पछिल्लो विवरण अनुसार पण्डेले १४ हजार १ सय ५ मत ल्याएका छन् भने थापाले १२ हजार १ सय १४ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *