फिचर

प्रचण्डले साथ गुमाउँदैछन् सहयात्री दल, निर्णय नसच्याए सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई समर्थन गर्ने दलहरु गुमाउने क्रम सुरु भएको छ । मन्त्रालय बाँडफाँडमा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा पुगेको छ । अब त्यसमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि थपिने भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेला जसपा र जनमत दुवै पार्टीले हस्ताक्षर गरेका थिए । जनमत पार्टीबाट त मन्त्रीसमेत नियुक्त भइसकेका थिए । तर सोमबार बालुवाटारमा भएको मन्त्रालय बाँडफाँडमा सिके राउतको जनमत पार्टीलाई खानेपानी तथा सरसफाइ मन्त्रालय दिइएको थियो । तर, जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ । खानेपानी मन्त्रीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।

‘सरकारको नेतृत्वको गरेको दलले हामीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको थियो । तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय हाम्रो पार्टीले अस्वीकार गरेको छ,’ उनले भनेका छन् । सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको बताए । जनमत पार्टीका ६ सांसद छन् । सुरुमा जनमत पार्टीलाई धेरै महत्व दिइए पनि पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीले जनमत पार्टीलाई त्यति महत्व नदिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *