राजनीति

प्रचण्डलाई यसरी घेराबन्दी गर्दैछन् ओली, सबै ठाउँमा आफ्ना मान्छे फिट

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजरामा राखेको सुगालाई बाहिर निस्कन नसक्ने गरी कसिलो बनाउँदै लगेको टिप्पणी गरे । शर्माको सो अभिव्यक्तिप्रति रियाक्सन गर्दै आफ्नो सिटमा बसेका प्रचण्ड मुसुक्क हाँसेका थिए । प्रधानमन्त्रीलाई पनि ओलीको व्यवहारले त्यस्तै फिल गरेको भान हुन्थ्यो ।


प्रधानमन्त्रीकै लागि कांग्रेससँगको गठबन्धन तोडेर एकाएक एमाले अध्यक्ष केपी ओलीको क्याम्पमा पुगेका प्रचण्ड अहिले जटिल अवस्थामा पुगेका छन् । प्रधानमन्त्री भएर पनि उनीसँग गृह, अर्थ, परराष्ट्र मन्त्रालय छैन । सायद सत्ताको नेतृत्व गरिरहेको दलसँग महत्वपूर्ण मन्त्रालय नभएको यो नै पहिलोपटक हो ।

प्रधानमन्त्री बन्नकै लागि सबै राजकीय पद एमालेलाई सुम्पिँदा अहिले प्रचण्ड निकै अप्ठेरो अवस्थामा पुगेका छन् । प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष हुन्छन् । संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र विपक्षी दलका नेता हुने व्यवस्था छ । तर अहिले संवैधानिक परिषद् एमाले अध्यक्ष ओलीको कब्जामा पुगेको छ ।

परिषदमा ओली नभए पनि उनका ‘एस म्यान’ हरूको बाहुल्यता हुने भएको छ । ओलीले प्रधानमन्त्री प्रचण्डलाई कमजोर बनाउन यसरी खेल खेलिरहेका छन् कि कुनै पनि संवैधानिक अंगमा नियुक्ति प्रचण्डले चाहेर हुने छैन । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सबै ओलीका ‘एस म्यान’ हुन् ।

जसकारण प्रधानमन्त्रीले लगेका नियुक्तिमा उनी एक्लैले निर्णय गर्न सक्दैनन् । त्यसैले प्रचण्ड नेतृत्वको सरकार पेण्डुलम बन्ने खतरा छ । सभामुख घिमिरे ओलीको निर्देशनविना एक कदम दायाँबायाँ चल्ने व्यक्ति होइनन् । हिजो सभामुख अग्निप्रसाद सापकोटा हुँदा आफूलाई के कस्तो अप्ठेरो पारेका थिए, अहिले त्यही बदला ओलीले प्रचण्डसँग लिने सम्भावना देखिएको छ ।

साढे दुई वर्षसम्म प्रचण्डलाई कतै पनि हलचल हुन नदिने र त्यसपछि आफू प्रधानमन्त्री बनेर राज्य सत्ता कब्जा गर्ने ओलीको रणनीति छ । तर, यसबारे प्रचण्ड पूरै बेखबर देखिएका छन् । ओलीले प्रचण्डलाई घेर्ने रणनीतिअनुसार नै मन्त्रालयहरुको भागबन्डा गरेका छन् । सबैभन्दा राम्रा मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई दिएर माओवादीलाई कामै नलाग्ने मन्त्रालयमा थन्काएका छन् । माओवादीले पाएको राम्रो मन्त्रालय भौतिक पूर्वाधार र सञ्चार मन्त्रालय मात्र हो । तर, दुवै मन्त्रालय चलाउन सक्ने नेता देखिएनन् ।

रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई ओलीले जसरी आफ्नो ग्रिपमा राखेका छन्, प्रचण्डबाट उनीहरु टाढै छन् । मन्त्रालयसम्बन्धी केही निर्णय गर्नुपरे पनि गृहमन्त्रीसमेत रहेका लामिछाने र ऊर्जामन्त्री लिङ्देनले सिधै ओलीलाई भेट्ने गरेका छन् । ओली अहिले रविलाई दायाँ र राजेन्द्रलाई बायाँ राखेर प्रचण्डमाथि शासन गर्न लागिपरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *