ताजा समाचार

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हु्न् ।

‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको वीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएका थिए,’ उनले भने, ‘यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।’

आफ्नो तेस्रो कार्यकाल मुलूकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे
‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ। यसभित्र थुप्रै बिकृति र बिसंगति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईहरूको साथ हुनेछ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *