
काठमाडौं । कञ्चनपुरमा पालिकाहरुले करोडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई अझै व्यवस्थापन चुनौती नै छ ।
यहाँको बेदकोटदेखि भीमदत्त नगरपालिकासम्म किसानहरुले छाडा पशुका कारण बालीनाली नै नोक्सान पु¥याएको भन्दै आक्रोश व्यक्त गरिएपछि पछिल्लो समय जिल्ला समन्वय समितिमा छाडा पशु व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरिएको छ ।
विगत साढे पाँच वर्ष यता भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर लगायतका नगरपालिकाले पशु व्यवस्थापनमा करोडौ रकम खर्च गरिसकेका छन् ।
कञ्चनपुरमा सामुदायिक चौपाया व्यवस्थापन जिम्मेवारी पालिकाका उपाध्यक्ष÷उपप्रमुखलाई दिइएको छ । बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरमै काञ्जीहाउस बनाउन लागिएको बताए । “नगरपालिका छेउमै राखेर केही महिनायता छाडापशु अस्थायी रुपमा व्यवस्थापन गरिरहेका छौं”, उनले “ दोस्रो कार्यकालका लागि हामी आइसकेपछि मात्रै छाडापशु व्यवस्थापनमा रु साढे ५ लाख जति खर्च भइसकेको छ ।”
उनले दशमध्ये आठ वडामा काञ्जीहाउस बनिरहेको बताए । “ काञ्जीहाउस लगायतका व्यवस्थापनमा रु २८÷३० लाख जति खर्च हुने अनुमान छ”, उनले भने “ छाडा पशु व्यवस्थानमा पशुपालक किसानहरु पनि सहयोगी हुनु आवश्यक छ ।” बितेका साढे पाँच वर्ष यता बेदकोट नगरपालिकाको छाडा पशु चौपाया व्यवस्थापनमा रु १ करोड भन्दा बढी खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा नं। १३ का वडाध्यक्ष रामबहादुर बोहराको नेतृत्वमा कार्यदल समेत बनाएको थियो । कार्यदलका संयोजक रामबहादुर बोहराले पशु व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा खोजी गरेर नगरपालिकालाई प्रतिवेदन बुझाएको बताए ।
“ हामीले यो यो ठाउँमा खाली जमिन छ । पहलका लागि आवश्यक सुझावसहित प्रतिवेदन बुझाएका छौ”, उनले , “आजभोलिमा कहाँ व्यवस्थापन हुने हो टुङ्गो लाग्छ ।”
भीमदत्त नगरपालिकामा अघिल्लो कार्यकालमा चौपाया व्यवस्थापनका लागि आवश्यक कानुनका साथै भौतिक संरचना समेत निर्माण गरिएको थियो । चौपाया व्यवस्थापनकै क्रममा भीमदत्त नगरपालिकाले छाड पशुमा ट्याग लगाउने कार्य गरेको थियो । हालसम्म भीमदत्तले रु ९१ लाख भन्दा बढी रकम खर्च गरिसकेको छ ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले यहाँको वडा नं. ९ सिर्सैयाको बिन्द्रावन सामुदायिक वन परिसरमा छाडा पशु चौपाया व्यवस्थान गरिरहेको छ । त्यसको जिम्मेवारी नगरपालिकाबाट वडाअध्यक्ष रमेश ऐरले लिनुभएको छ । वडाध्यक्ष ऐरले हाल बिन्द्रावन सामुदायिक छाडा पशु व्यवस्थापन केन्द्रमा साढे तीन सय पशु रहेको बताए ।
“यहाँ ल्याएर व्यवस्थापन गरेपछि शुक्लाफाँटामा हुदै गएको छ”, ऐरले भने , “ गौ सेवक, आहारा लगायतको व्यवस्थापनमा चालु आवमा रु ४० लाख दिएको छ ।” उनले विगत दुई वर्ष यता पशु व्यवस्थापनमा जुटेको बताए ।
“ अर्गानिक मल उत्पादनदेखि, दुग्ध उत्पादनदेखि छाडा गोरु छाड्नेलाई कारबाही गर्नेसम्मको कार्यविधि बनाएको छ”, उनले “ अरु पालिका भन्दा व्यवस्थापनमा हामी अघि छौं ।” उहाँले गौशालालाई सुदूरपश्चिमकै अध्ययन केन्द्र बनाउने योजना रहेको बताए । उनले विगत वर्ष यता वार्षिक रु ४० लाख नगरपालिकाले पशु व्यवस्थापनमा खर्च गरिरहेको जानकारी दिए ।
छाडा पशु व्यवस्थापनमा ठूलो धनराशि खर्च भइसक्दा पनि दिगो व्यवस्थापन नहुँदा बेलाबखतमा स्थानीय किसान आक्रोशित हुदै आएका छन् । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आफू र छिमेकी लालझाडी पालिकासित मिलेर समेत छाडा पशु व्यवस्थापन गरिरहेको जानकारी दिए ।
“ हाम्रो पालिकामा पर्ने वनहरादेखि मोहना चोकसम्म राजमार्गमा मुश्किलले अब छाडा पशु देख्नु हुन्छ”, उनले भने “ यहाँका धेरै ठाउँमा काञ्जी हाउस बनाएर करिब एक हजारदेखि एघार सय चौपायाको व्यवस्थान गरिहेको छ ।”
उनले आफूहरु जनप्रतिनिधी भएर आइसकेपछि चौपाया व्यवस्थापनमा रु दश लाखको हाराहारीमा खर्च भएको बताउनुभयो । चार वर्षअघि कञ्चनपुरमा छाडा पशु व्यवस्थापनको विषय अदालतसम्म पुगेको थियो । महेन्द्रनगरका अधिवक्ता गजेन्द्रबहादुर रावलले यहाँका पालिकालाई विपक्षी बनाएर उच्च अदालतमा मुद्दा दायर गरेपछि उच्च अदालत महेन्द्रनगर इजलासले चौपाया व्यवस्थापन गर्न परमादेश समेत जारी गरेको थियो ।