
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले संविधानको व्यवस्था व्यवहारिक कार्यान्वयन नगर्ने हो भने त्यो कार्यान्वयन गर्नका लागि होइन भनेर घोषणा गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखका उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै सांसद चौधरीले संसद्मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको बताए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’
नेता चौधरीले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने बताए । ‘हाम्रो संविधानले भुगोल, जाति, लिङ्ग र वर्ग क्षेत्रको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ’, सांसद चौधरीले भने, ‘त्यसअनुसार हो भने झापाबाट सभामुख निर्वाचित हुँदा उपसभामुखका लागि मुक्ताकुमारी यादव योग्य हुनुहुन्छ । म उहाँलाई संविधानको व्यवस्थाबमोजिम यो सदनको उपसभामुखमा निर्वाचित गर्न आव्हान गर्दछु ।’