
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले महिला सांसदलाई ‘चेली’ नभन्न आग्रह गरेकी छिन् । आज (शनिबार) उपसभामुख निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गर्दै प्रश्न गरिन्, ‘महिला सांसदलाई चेली भन्ने हो भने पुरुष सांसदलाई चाँहि चेला भन्ने ?’
सांसद श्रेष्ठले थपिन्, ‘यो सदनमा धेरै पटक सुनियो चेली । महिलाहरुलाई, महिला नेतृहरुलाई चेली भनेपछि के पुरुषहरुलाई चेला भन्छौँ ? भन्या सुन्या त छैनौँ । त्यसकारण कृपया मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’ एनजीओकर्मी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।