
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरिब जनताको विश्वासबाट विलिन भएको आरोप लगाएका छन् ।
आज (शनिबार) प्रतिनिधिसभा बैठकमा उनले २०६५ सालमै प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा तत्कालीन मधेशी जनअधिकार फोरमले समर्थन गरेको भन्दै अहिलेका प्रचण्डले चरित्र फेरेको आरोप लगाए ।
‘६५ मा पनि उहाँ फोरमको समर्थनमा निर्वाचित हुनु भएको थियो । त्यति बेला अहिलेको अवस्थाभन्दा फरक थियो । तमाम शोषित–पीडित जनताहरू वडो विश्वासको साथ प्रचण्डले गरिब जनताको अधिकार, सम्मान दिलाउँछन् भन्ने थियो । अहिलेसम्म आइपुग्दा प्रचण्ड पुष्पकमल दाहालमा रूपान्तरण भएको त हैन भन्ने हाम्रो शंका छ’, उनले भने ।
उनले प्रधानमन्त्री प्रचण्डका रूपमा कति खरो उत्रनु हुन्छ भन्दै आफूहरुले हेरिरहेको पनि बताए । शासक बन्ने कि सेवक बन्ने परीक्षा प्रचण्डले दिनुपर्ने उनले बताए ।
‘प्रचण्डजी लिभिङ टुगेदर कांग्रेससँग, लगनगाँठो अर्कै पार्टीसँग’, कटाक्ष गर्दै उनले भने । यादवले संसदमा नयाँ साथीहरू ऊर्जासहित र पुराना साथीहरू अनुभवसहितको बहस सुन्दा उत्साह छाएको भन्दै बहसहरू परिणाममुखी हुनपर्ने बताए । उनले नेपाली जनताले उत्साह र विश्वासका साथ आफूहरूलाई हेरिरहेको उल्लेख गरे ।
‘हामीले बोलिरहेका कुरामा कति अडिन सक्छ, भनाइ र गराइमा कति मिल्छ भनेर जनताले हेरिरहेका छन् । हामी नेपाली नेताहरू बोल्नमा कुनै मुलुकका नेताहरूभन्दा कम छैनौं । वैचारिक आदर्शका कुरा गर्छौ, तर व्यवहार कुरा अनुरूप कतिको उत्रन्छौँ, त्यो स्पष्ट देखिन्छ’, उनले भने ।