रिबन

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित

काठमाडौं।प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे।

झापाकी इन्दिरा आदिवासी जनजाति महिलाबाट समानुपातिक सांसद् भएकी थिइन्। राजनीतिमा आउनुअघि रानामगर कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय र शिक्षा दिन सक्रिय थिइन्।

उनलाई रास्वपाका सोबिता गौतमले प्रस्ताव गरेकी थिइन्। उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन्।

त्यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला थिए।

नेपालको संसदीय इतिहासमा इन्दिरा १२औं उपसभामुख हुन् ।

को हुन् रानामगर?
झापामा जन्मिएकी ५२ वर्षीया उपसभामुख रानामगर सामाजिक क्षेत्रमा क्रियाशील छिन्। ३३ वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी उनी कारागार (जेल) मा परेका आमा–बुवाका सन्तानको हेरचाह र स्वास्थ तथा शिक्षाका लागि लामो समयदेखी बालबालबालिकाको क्षेत्रमा तथा सामाजिक सेवामा क्रियाशिल छिन्।

विभिन्न क्षेत्रमा विद्यालयका लागि जग्गादान गरेकी उनले ११ वर्षको उमेरदेखि मात्रै विद्यालय जान सुरु गरिन। रानामगरले २०५३ सालमा स्नातक तहसम्मको पढाइ पूरा गरेकी छन्। पढाइ सकेर उनी सामाजिक क्षेत्रमा क्रियाशील छिन्।

रानामगर मंसिर ४ गतेको चुनावपछि मात्र राजनीतिमा होमिएकी हुन्। उनलाई रास्वपाले समानुपातिकतर्फबाट सांसद बनाएको हो।

दुई हजारभन्दा बढी बालबालिकाकी आमासमेत रहेकी रानामगरमाथि थप २७५ जना सांसदको जिम्मेवारी पनि रहनेछ। बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौं, भक्तपुर, झापालगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ।

झापामा विद्यालय तहसम्म पूरा गरेकी रानामगर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आइपुगिन्। काठमाडौंमा उनको भेट साहित्यकार तथा समाजसेवी पारिजातसँग भयो। मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्था ह्युरनकी उपाध्यक्ष रहेकी पारिजात जेलमा रहेका कैदीबन्दीका विषयमा आवाज उठाउने गर्थिन्।

पारिजातसँगै उनी पनि जेलमा जाने र कैदीबन्दीका समस्याबारे नजिकबाट जानकारी लिने गर्थिन्। उनले जेलमा बाबुआमासँग रहेका कैदीबन्दीका छोराछोरीको अवस्था देखेपछि आफू नै अभिभावक हुने निर्णयमा पुगिन रानामगर। झण्डै तीन वर्ष पारिजातको संगत गरेपछि उनले ‘बन्दी सहायता नेपाल’ नामक गैर–सरकारी संस्था खोलेर बालबालिकाको अभिभावक बनिन्। हालसम्म पनि उनले यो कार्यलाई निरन्तरता दिइरहेकी छन्।

समाजसेवी रानाले सन् २००५ मा अशोक फेलो, एसिया योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वर्ल्ड चिल्ड्रेन प्राइज अनरी अवार्ड २०१४ समेत जितेकी थिइन्। दुई दर्जनभन्दा बढी अवार्डबाट सम्मानित भइसकेकी उनी सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा परेकी थिइन् । साथै उनले द वन रोटरियन ह्युम्यानेटिरियन सर्विस अवार्ड २०२० पाएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *