
काठमाडौँ। सकार गठनमा आफ्नो पार्टी असन्तुष्टि रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई ओलीले असन्तुष्टि सम्बोधन गर्ने आश्वासन दिएका छन् । सत्ता साझेदार दलहरूको भागबण्डामा हेपिएको भन्दै ओलीलाई भेट्न बालकोट पुगेको यादवलाई ओलीले यस्तो आश्वासन दिएका हुन् ।
ओली निवास बालकोट पुगेका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गरेका छन्। स्रोतका अनुसार यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् ।
अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने भनिएको छ। यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा आउन चाहन्छन्।
मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गरेका छन्। जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ। यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको र यो कुरा प्रधानमन्त्रीसँग पनि भएको बताएका छन् ।
जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गरेका छन् । चुनावमा पनि एमालेसँग मिलेर गएकाले अब पनि सोही अनुसार अघि बढ्ने र केही तलमाथि भएको आफूले मिलाउने आश्वासन ओलीले दिएका छन् ।