
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्ड ‘पिंजडा’मा रहेको दाबी गरेपछि यसबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालै जवाफ फर्काए ।
कांग्रेस महामन्त्री समेत रहेका सांसद शर्माले संसद बैठकमा प्रचण्डलाई एमालेले पिंजडामा राखेकाले कांग्रेसले विश्वासको मत दिएको बताएका थिए । उनले पिंजडाबाट मुक्त गर्न कांग्रेसले विश्वासको मत दिएको भएपनि ओलीले भने त्यसलाई अशुभ रहेको टिप्पणी गरिसकेका छन् ।
महामन्त्री शर्माले प्रधानमन्त्री पिंजडामा रहेको सार्वजनिक अभिव्यक्ती दिएपछि अहिले के प्रचण्ड साँच्चे पिंजडामा छन् भन्ने बहश शुरु भएको छ । यस्तो बहश किनपनि शुरु भएको हो भने सरकारको नेतृत्व प्रचण्डले गरेको भएपनि सत्ताको तालाचावी भने एमालेको हातमा छ ।
सरकार सञ्चालनको लागि बनाइएको उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजकको भूमिकामा रहेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली । ओली तिनै व्यक्ती हुन्, जो सरकारको नेतृत्व गरिरहँदा नेपालमा कोरोना महामारी उत्कर्षमा थियो । तत्कालिन समयमा अहिलेका प्रधानमन्त्री प्रचण्डले सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गर्दा ओलीले ठाडै अस्वीकार गरेका थिए । तर अहिले भने ओली आफै संयन्त्रको नेतृत्व लिएर बसेका छन् ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समयमा समेत ओली हावी भएको स्पष्टै देखिएको थियो । प्रधानमन्त्री एक छेउँमा बसेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बस्नुपर्ने कुर्सीमा बसेको दृष्यले समेत कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भनाईलाई पुष्टि गर्छ ।
त्यसोत अहिले माओवादीसँग प्रधानमन्त्रीबाहेक अन्य संवैधानिक निकायमा केही पनि छैन । सरकार सञ्चालनका लागि महत्वपुर्ण मन्त्रालयका रुपमा रहेका गृह, अर्थ, परराष्ट्र लगाएतका सबै मन्त्रालय माओवादीभन्दा बाहिर पुगिसकेका छन् । अर्कातर्फ मन्त्री, प्रधानमन्त्रीले विदेशी कुटनीतिज्ञ भेट्दा अनिवार्य परराष्ट्रका कर्मचारी राख्ने निर्णय सरकारले गरेको छ । यो हेर्दा परराष्ट्रमार्फत भेटवार्ता गर्नुपर्ने देखिएको भएपनि यसले एमालेले सरकारका गतिबिधिबारे जानकारी पाउने सहज बाटो समेत बनाइदिने देखिन्छ ।
कुटनीतिज्ञ भेट्दा परराष्ट्रका कर्मचारीलाई अनिवार्य राख्नुपर्ने भनिएको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने नेपालका लागि चिनिया राजदुत भेटेको सार्वजनिक भएपनि परराष्ट्रका कर्मचारी कोही पनि थिएनन् ।
त्यसबाहेक सरकारमा सहभागी राप्रपादेखि राष्ट्रिय स्वतन्त्र पार्टीका शिर्ष नेताहरु समेत प्रधानमन्त्रीसँग भन्दा बढि एमाले अध्यक्ष ओलीसँग निकट देखिन्छन् । यसैले कांग्रेसले प्रचण्ड पिंजडामा रहेको बताएको थियो ।