राजनीति

धनराजले भने– विश्वासको मत दिने कांग्रेसको निर्णयबारे छलफल भएकै छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बारेमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

आज बसेको कांग्रेस संस्थापन इतर समुहको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाबारेमा सामान्य छलफल भएपनि सञ्चारमाध्यममा आएजस्तो कुनै छलफल नभएको उनले दाबी गरेका छन् ।

यसअघि संस्थापन इतर समुहको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत रहेको निष्कर्ष निकालेको समाचार सार्वजनिक भएको छ । तर उपसभापति गुरुङले भने छलफलमा बोल्ने नेताहरुले विषय उठान गरेको भएपनि कुनै ठोस छलफल नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्,‘आज विहान आदरणीय नेता शेखर कोइरालाको नेतृत्वमा समसामयिक विषयमा छलफल गरेका थियौं । प्रमलाई नेकाले विश्वासको मत दिएको विषयमा केही साथीहरूले के भएको हो ? भनेर कुरा उठाएका थिए र यस विषयमा थप छलफल भएको थिएन ।’

विश्वासको मत दिनु गलत रहेको निष्कर्ष निकालेको विषयमा सार्वजनिक भएको समाचारमा सत्यता नभएको भन्दै उनले भ्रामक ढंगबाट समाचार सम्प्रेषण भएको दाबी समेत गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *