
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी शुरु गरेको संकेत गरेका छन् ।
बिहिबारबाट शुरु भएको माओवादी केन्द्रको बैठकमा प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेले असहयोग गरेको गुनासो गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
सरकार गठन भएपछि एमालेका विष्णु पौडेलको मात्रै मन्त्रीमा शपथ गराउने तयारी भएपनि अध्यक्ष ओलीले चार जनाको नाम पठाएको बैठकमा प्रचण्डले बताएका छन् ।
वरियताक्रममा विष्णु पौडेललाई दोस्रो नम्बरमा राख्न पनि ओलीले नै दबाब दिएको प्रचण्डले जानकारी गराएको ति नेताले दाबी गरेका छन् । राष्ट्रपति चुनावका बारेमा छलफल गर्न बोलाइएको स्थायी कमिटि बैठकमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्ने तर्क केही नेताले अघि सारेका छन् ।
बिहिबारको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपति निर्वाचनका बारेमा सुझाव समेत मागेका छन् ।