
काठमाडौं । वाग्मती प्रदेशसभाको सोमबार बोलाइएको बैठक बस्न नसकेपछि स्थगित भएको छ ।
सोमबार दिउँसो १२ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित भएको हो । प्रदेशसभाका सातवटा विषयगत समितिका सदस्यहरु मनोनीत गर्न बस्ने भनिएको बैठक नेपाली कांग्रेस र राप्रपाले सदस्यहरुको नाम नपठाएपछि बैठक बस्न सकेन ।
आइतबार बसेको प्रदेशसभा बैठकले कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यहरु मनोनीत गरेको थियो ।
सोमबार बाँकी सातवटा विषयगत समितिहरुको सदस्य मनोनीत गर्ने कार्यसूची रहे पनि नेपाली कांग्रेस र राप्रपाले समितिमा सहभागी हुने सदस्यहरुको नाम नपठाएपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक माघ २६ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।