
काठमाडौं । सरकारले दूरसञ्चार प्रदायक कम्पनीहरूको बदमासी रोक्न नयाँ प्रविधि जोड्ने तयारी गरेको छ । सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने तयारी गरेको हो ।
टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागेको हो । नेपाल दूसरञ्चार प्राधिकरणका अनुसार लेबनानको कम्पनी भानराइस सोलुसनले टेरामक्स प्रविधि जडानका लागि चाहिने आवश्यक सामग्री नेपाल ल्याइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म टेरामक्स प्रविधि जडान गरेर काम सुरु गर्ने प्राधिकरणको लक्ष्य रहेको उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिए । उनले आगामी ६ महिनाको अवधिमा प्रविधि जडान सकेर सेवा सुरु गर्ने योजनामा प्राधिकरण रहेको बताए ।
टेरामक्स प्रविधि जडानका लागि सर्भर, मोबाइल र टेस्टकिट आवश्यक पर्छ । टेरामक्स प्रणाली काठमाडौंकै चाबहिल र हेटौंडाको सेकेन्डरी डाटा सेन्टर ९जीआईडीसी० मा जडान गरिने प्राधिकरणले जनाएको छ । दुई चरणमा हुने कामको पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान गरिने छ । दोस्रो चरणअन्तर्गत आगामी पाँच वर्षसम्म प्रणालीको व्यवस्थापन हुनेछ । योजनाको कुल लागत २३।७ मिलियन अमेरिकी डलर छ ।
टेरामक्सले टेलिकम कम्पनीहरुले दिने सेवामाथि गहन रुपमा निगरानी गर्ने प्राधिकरणले जनाएको छ । खासगरी टेलिकम कम्पनीहरुमा विदेशबाट आउने अनाधिकृत फोन कल बाइपासमाथि पूर्णरुपमा निगरानी राख्छ । यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्वाइस डाटा ट्राफिक भोल्यूमको परीक्षणसमेत गर्नेछ ।
यो प्रविधिले विदेश र स्वदेशबाटै अनाधिकृत रुपमा हुने कल बाइपासको निरीक्षणसमेत हुने बताइएको छ । टेलिकम कम्पनीहरुले दिने सेवाको गुणस्तरको परीक्षणसमेत टेरामक्स प्रविधिले गर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा कल बाइपास गर्न लागाएर टेलिकम कम्पनीहरुले राजस्व छल्ने गरेका छन् । नेपालमा नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम, सिजी टेलिकमलगायत दूरसञ्चार प्रदायक कम्पनीहरूले सेवा दिँदै आएका छन् ।
नेपालमा भारतीय, बंगलादेशी नागरिकले कल बाइपास गर्दै आएका छन् । यसमा पछिल्लो समय चिनियाँ नागरिकसमेत सहभागी हुने गरेका छन् । उनीहरूले घर भाडामै लिएर कल डाटा सेन्टर चलाउने गरेका छन् । यस्ता डाटा सेन्टर बुटवल, नेपालगन्ज, काठमाडौंमा सञ्चालनमा आएको प्रहरीको भनाइ छ । अहिलेसम्म प्रहरीले दुई सयभन्दा बढी चिनियाँ, नेपाली र भारतीय नागरिक पक्राउ गरिसकेको छ ।