समाचार

गगनले त्यागेपछि नेतृत्व गर्ने नेताको कांग्रेसमा खोजी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पाँच वर्षसम्म मन्त्री नहुने स्पष्ट पारेका छन् । यसअघि कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले आफू यो पाँच वर्षे कार्यकालमा मन्त्री नबन्ने बताएका थिए । तर कांग्रेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाब धेरै परेपछि थापाले आइतबार स्पष्ट रूपमा आफू महामन्त्रीकै हैसियतमा क्रियाशील हुने स्पष्ट पारेका हुन् ।

आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रियामा थापाले आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रूपमा जनताको सेवा गर्ने बताए । ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरु मैले कांग्रेसको महामन्त्री भएर आफ्नो काम गर्ने हो । त्यो कामहरु गर्छु । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्‌मा उठाउनुपर्ने कुराहरु उठाउँछु ।

म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने, ‘म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ । परिणाम के निस्कियो भन्ने हो । यो सरकारले परिणाम दिन सकेन भने पाँच वर्ष खेर जान्छ ।’

पार्टी महामन्त्री थापाले नै आफू मन्त्री नबन्ने स्पष्ट पारेपछि अब कांग्रेसमा तेस्रो नेताको खोजी सुरु भएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने स्मरण गराएका थिए । सात वर्षअघि नै आफू मन्त्री नबन्ने उनले दोहोर्याएका हुन् ।

त्यसैले अब कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ वा नेता विमलेन्द्र निधिमध्ये एकले कांग्रेसको नेतृत्व गरेर सरकारमा जानेबारे छलफल सुरु भएको नेताहरु बताउँछन् ।

निधिको पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग त्यति हार्दिक सम्बन्ध छैन । विगतमा देउवा क्याम्पकै बलियो हस्ती निधि १४औं महाधिवेशनअघि देउवा समूहबाट बाहिरिँदै सभापतिमा उम्मेदवारी दिएका थिए । तर सभापतिको दोस्रो चरणको निर्वाचनमा उनले देउवालाई समर्थन गरेका थिए । त्यही भएर देउवाले निधिलाई केन्द्रीय सदस्य र समानुपातिकबाट प्रतिनिधिसभा सदस्यसमेत बनाइदिएका थिए । खड्का र थापा सरकारमा नजाने भएपछि निधिले नेतृत्व गर्नेबारे चर्चा भएको हो ।

तर उपसभापति खड्का भने यसपटक अर्का उपसभापति गुरुङलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउने मनस्थितिमा रहेको बुझिएको छ । उनले गुरुङलाई सरकारमा पठाउन सभापति देउवासँग कुराकानी गरिरहेको स्रोतले बतायो । पार्टीकै पदाधिकारीलाई नेतृत्व गरेर पठाउँदा अन्य सिनियर नेताको दाबी कमजोर हुने बुझाई खड्काको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *