देश

कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

काठमाडौं । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो ।

होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ । राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ । होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ । जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ ।

होलीको टीकाको दिनदेखि आठौँ दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ । फागुपूर्णिमा वा होलीको अन्तिम दिन वा फागुपूर्णिमापछिको आठौँ दिनलाई खखडेहरा पर्वका रूपमा मनाइन्छ । खखडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी बिदाइ गर्नु रहेको स्थानीय रामसहाय रानाले बताए ।

खखडेहराका दिन बिहानै गाग्री, टायल, खप्टा, सुकेको गोबर, जल गाउँको बाहिर लगेर जम्मा गर्ने चलन छ । त्यो जम्मा गरेको सामग्रीलाई गाउँका अगुवाले फुटाउने गरिन्छ । “यसरी सामग्री फुटाउँदा रोगव्याधि र राक्षसी प्रवृत्ति हराउने विश्वास छ”, उनले भने , “फुटाएका सामग्री फर्केर हेरिँदैन, त्यसपछि घरमा आएर सबैले नुहाइधुवाइ गरी होलिका जलाएको खरानीको टीका लगाइन्छ ।” यो चलन राना थारू समुदायमा पुर्खौँदेखि चल्दै आएको छ ( रासस ) ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *