विचार

संक्रमणकालीन न्यायको काम गर्नका लागि नवनिर्वाचित राष्ट्रपतिले मध्यस्थता गर्नुहुने सबैको अपेक्षा

काठमाडौं । नेपालले समयावधिका क्रममा चौथो तर व्यक्तिको रुपमा तेस्रो सम्माननीय राष्ट्रपति पाएको छ । यसपटक निर्वाचित सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल आजको समसामयिक राजनीतिमा सक्रिय नेतामध्ये सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि उपलब्ध पात्रहरुमध्येको असल पात्र नै हुनुहुन्थ्यो । समीक्षकहरुले के पनि मानिरहेका थिए भने सही पात्रहरुका बिचमा प्रतिस्पर्धा भएको छ । तर दुवै पात्रहरुले संवैधानिक राजकीय दायित्व प्राप्त गर्दा मुलुकले बिराउन लागेको संवैधानिक पथलाई सही बाटो दिनसक्थ्यो । दुर्भाग्यवश एउटै पदका प्रतिस्पर्धी हुँदा एकजना छुटेको जस्तो भयो ।

समयको खेल हो, माननीय नेम्वाङ लागि अरु पनि पदले पर्खेर बसेको छ कि ? तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको नारा दिँदा एमालेले त्यसमा सक्रियता देखाएको भए र सहमतिमा आएको भए सम्भवतः रामचन्द्र पौडेल राष्ट्रपति र नेम्बाङ उपराष्ट्रपतिमा अटाउने थिए किनभने संविधानले विपरीत लिंग र अन्य समुदायको व्यक्ति हुने कुरामा सहमति जनाएको छ । तर समय घर्किएको छ र उपराष्ट्रपतिका बारेमा चैत्र ३ गते हुने निर्वाचनमा तोकिएको निर्वाचन मण्डलको वहुमतको निर्णय पर्खनै पर्ने हुन्छ ।

सम्माननीय राष्ट्रपतिका रुपमा नवनिर्वाचित रामचन्द्र पौडेललाई वधाइ तथा शुभकामना छ सफल कार्यकालका लागि ।

सफल कुन अर्थमा भने राष्ट्रपति पदको गरिमाका बारेमा जुन नयाँ नयाँ भाष्य तयार हुन थालेको थियो, शक्तिकेन्द्रका रुपमा परिभाषित गर्न थालिएको थियो, त्यसलाई सच्च्याएर उहाँले नेपालको गणतन्त्रात्मक लोकतान्त्रिक शासन प्रणालीमा एउटा आदर्श र राज्यको पथप्रदर्शक राष्ट्रपति कस्तो हुनुपर्छ भनेर नमुना अभिभावकको रुप देखाउन सक्नुहोस् । यो समीक्षकको करिब पाँचदशकदेखिको उहाँसँगको संगतले मलाई लाग्छ, राजनीतिको अनवरत तपस्याको फल हो, आज उहाँ नेपाली कांग्रेसको विभिन्न पद र राज्यका विभिन्न उत्तरदायित्वबाट अहिले नेपालको अभिभावक र संविधानको संरक्षकको रुपमा आफ्नो भूमिका निर्बाह गर्न पुग्नु भएको छ ।

यो सक्रिय राजनीतिबाट अचानक परिवर्तित निष्पक्ष भूमिका तर नेपाली परिप्रेक्ष्यमा उच्च सम्मानको पदमा आसीन हुन पुग्नु भएको अवस्था छ । त्यस्तो उच्च सम्मानको तर संवैधानिक पदको गरिमा कसरी उच्च राख्ने र कार्यकारीको भूमिकालाई कसरी प्रभावकारी बनाउन अभिभावकको रुपमा निर्देशन गर्न सकिन्छ भन्ने कुरामा पौडेलको कार्यकाल चिरस्मरणीय हुनुपर्छ भन्ने अपेक्षा आम नेपाली नागरिकमा देखिएको छ ।

लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान (२०७२)को प्रस्तावनामा भनिएको छ:

हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता; नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक– पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै; सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै; बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै; जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

यसरी २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको इतिवृत्त थाहा पाउने महत्वपूर्ण पात्रमध्ये पौडेल एक हुनुहुन्छ र संविधानमा षडयन्त्रको गन्ध आउनु हुँदैन भन्दै संविधानलाई सकेसम्म जनमैत्री, प्रजातन्त्रमैत्री र दूरगामी अभ्यासमा समेत कुनै खोट नदेखियोस् भन्ने सकारात्मक पक्षमा सोच्ने राजनेतामध्ये पौडेल एक हुनुहुन्थ्यो । त्यसैले समयचक्रले पौडेललाई एउटा दलको वरिष्ठ नेताबाट मुलुकको अभिभावक र सबै दलहरुलाई जसरी विभिन्न रंगका फूलहरुलाई एउटै मालामा गाँसेर पूर्णता दिएर गलामा लगाइन्छ, ठिक त्यस्तै गरी सबैदलहरुलाई मुलुकको हितमा डो¥याउने काममा उहाँको अभिभाकत्वले काम गर्न सकोस् । उहाँको कार्यकाल २०७९ साल फागुन २९ गते आधिकारिक रुपमा शुरु भएको छ । स्मरणीय छ, उहाँ फागुन २५ गते निर्वाचित हुनु भएको हो । उहाँको निर्वाचन मण्डलमा संघीय सांसदहरु र प्रादेशिक सांसदहरु हुनुहुन्थ्यो ।

र अन्त्यमा, बाटो बिराएको अनि सत्ताको केन्द्रीयतामा रमाउने बानी परेको राष्ट्रपति पदको गरिमालाई जोगाउन र मुलुकको अत्यन्त संवेदनशील अनि संक्रमणकालीन अवस्थामा राष्ट्रपति हुनु भएका सम्माननीय रामचन्द्र पौडेलको हैसियत भनेको द्वन्द्वकालीन अवस्थाको गिजोलिएको शान्तिका प्रयासमा सरकारले गर्ने, अदालतले गर्ने फैसलासमेतमा अभिभावकत्व ग्रहण गर्ने क्षमता देखिन्छ । त्यसैले छिटोभन्दा छिटो संक्रमणकालीन न्यायको काम गर्नका लागि आन्तरिकरुपमा मध्यस्थता गर्न र सबैका बिचमा बाटो देखाउने काम गर्न पनि उहाँले सफलता पाउनु होस् र नमुनाको संरक्षकको रुपमा देखिनु होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *