
काठमाडौं । गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडि बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो ।
सन्तोष सुनारको शब्द र संगीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुंगानाको अभिनय छ । ‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’, गायक रौनियारले भने, ‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए । समयानुसार नै आफूलाई प्रस्तुत गर्दैछु ।’
गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।
अभिनेत्री ढुंगानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै सन्देश दिने जानकारी दिइन् । ‘गृहिणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुंगानाले भनिन्।
कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो ।
निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतीको कथा देखाइएको छ । बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतीले स्वास्थ्य समस्या, सामाजिक संघर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ । भिडियोमा हरि हुमागाईंले छायांकन र विकास धमलाको सम्पादनले गरेका छन् ।