
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
शनिबार च्यासल मैदानमा सम्पन्न खेलमा आर्मीले इन्जुरी समयमा निर्णायक गोल गर्दै फ्रेन्ड्सलाई पराजति गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।
इन्जुरी समयको ९४औं मिनेटमा आर्मीका दिपक गुरुङले गोल गर्दै जित दिलाएका थिए ।
यसअघि खेलको पाँचौ मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाइ शुरुवाती अग्रता दिलाए पनि खेलको २३औं मिनेटमा गिलिप्स जंग कार्कीले गोल गर्दै आर्मीका लागि खेल बराबरी गरेका थिए ।
यो जितपछि आर्मीको ५ खेलमा दुई जित, २ बराबरी र एक हारसहित ८ अंक भएको छ ।
त्यसैगरी फ्रेन्ड्स क्लबको भने यो यस सिजनमा तेस्रो हार हो । फ्रेन्ड्सको ५ खेलमा एक जित, एक बराबरी र तीन हारसहित ४ अंक रहेको छ ।