राजनीति

एमाले र माओवादीले पुल्पुल्याएर पालेका दुर्गा प्रसाई आज उनैलाई घाँडो

एमाले र माओवादीले पुल्पुल्याएर पालेका दुर्गा प्रसाई आज उनैलाई घाँडो भएका छन् l उनको गलत महत्वाकांक्षालाई पखेटा हालिदिने काममा प्रचण्ड र केपी ओलीको बेजोड योगदान छ l उनका वैध अवैध सबै धन्दालाई संरक्षण गर्ने कार्यमा नेकपा माओवादी र एमालेका कार्यकर्ता समेतले भूमिका निर्वाह गरेका छन् l आफूले काँधमा बोकेका तिनै दुर्गाले एमाले र माओवादीलाई टोक्न थालेका छन् ।

माओवादी सत्तामा भएको र कारबाही गर्न सक्ने डरले उनी यतिबेला माओवादीप्रति विशेष किसिमले नरम दृष्टिकोण राख्छन् l जसको प्रमाण उनले केही समयअघि प्रधानमन्त्री प्रचण्डलाई मनमा पाप नभएको र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राजनीतिक मान्छे भनेर प्रशंसा गरिसकेका छन् । यो उनको चतुर्याई हो । प्रसाई हिजो पनि गलत थिए ।

माओवादी हुँदा होस् या एमाले हुँदा । आज राजावादीको डसनामा छन् l त्यो डसना पनि एक दिन फोहोर पार्नेछन् l उनी गलत हुँदा हुँदै पनि उनीमाथि मोसो फ्याँक्ने काम गलत हो । गलतको प्रतिवाद गलत नै गरेर गर्न हुँदैन उनलाई कानुनी कारबाहीको दायरामा ल्याउनु ठिक हो । हिजो पुल्पुल्याएर काँधमा बोक्ने प्रचण्ड ओलीलाई नै आज प्रसाई भारी भएका छन् ।

हिजो एक अर्काका विरुद्द र प्रा.डा. गोविन्द केसीका विरुद्ध प्रयोग गर्दा मजा मान्ने सरहरू आज उनी छाडा, अराजक भएकोमा क्षुब्द हुनुभएको रहेछ । कानुनी कारबाही गर्न ओली र प्रचण्ड सल्लाह गर्न पुग्नु भएछ l

स्मरण रहोस् दुर्गा प्रसाईले राजा बोकेको र हिन्दु धर्मको नारा बोकेको आफ्नो स्वार्थ सिद्द्को लागि हो l राजतन्त्र र धर्मको आस्था र निष्ठाले होइन । उनको स्वार्थमा ठेस लाग्नेबित्तिकै उनले अडेस लागेको हिन्दु धर्मको पिल्लर तोडेर र ओछ्याएको राजतन्त्रको डसना फोहोर गरेर हिंड्ने छन् । उनलाई राज्यले कानुनी कारबाहीको दायरामा ल्यायो भने यो देशमा काम गर्ने वातावरण छैन भन्दै आज बोकेका नारा आज पछि लागेका बैंक र सहकारी पीडितलगायत अन्य पीडितको मुद्दा सडकमा अलपत्र पारेर उनी विदेशिने छन् ।

गरिब,शोषित र उपेक्षितको नारा र मुद्दा बोकेर उच्च नैतिक बल भएको मान्छे अघि नलागेसम्म दुर्गा पर्साईले डुङ्गा पार लगाउन सक्दैनन् l अलपत्र छोडेर हिड्ने छन् । जसको पूष्टि माओवादी र एमाले हुँदाका उनका गतिविधि र घटनाक्रमले गर्दछ l म राजावादी र हिन्दुअधिरज्य स्थापनाको लागि र केही सामाजिक मुद्दा र संवेदनशील विषय बोकेको अभियन्ता भएको कारण अब कसैले छुन सक्दैन र हुँदैन भन्ने भ्रम दुर्गामा छ ।

त्यसैले उनी राजतन्त्र स्थापना गर्ने तकियाको आडमा हिजो जस्तै आज पनि आफूलाई मन नपरेका र आफूलाई धोका दिएका व्यक्तिहरूप्रति विष बमन गरिरहेका छन् । दुर्गाको गलत हर्कतलाई पोषण खुवाउने र उनलाई धोका दिनेहरू पनि दुर्गाको यो उग्र रूपका हिस्सेदारहरू हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *