देश

परदेशी भाईको दिदिलाई चिठी

मेरी प्यारी दिदीहरु

सास्टा· सेवा ढोग । आराम छु आरामताको कामना गर्दछु। खासै लेख्नै पर्ने नविन समाचार त केही पनि थिएन तर पनि दिदी तपाईहरुको हातबाट तिहारको टिका लगाउन नपाएको पनि दुई दसक पुगिसकेछ ।

विदेशी भूमिमा प्रत्येक वर्ष भाइटिकाको दिन तपाईंहरुलाई सम्झिएर आँखाभरी आँसु बगाएको मेरो मानसपटलमा अझै पनि ताजै छ । तपाईहरुले पटक–पटक मलाई नेपाल आउन आग्रह गर्दा म शब्दहीन हुन्छु । तपाईंहरुको आग्रह नकार्दा मेरो ज्ञानेन्द्रीयले मलाई नै गिज्याइरहेको हुन्छ ।

म महसुस गर्न सक्छु छोरो दसैँमा घर नआउँदा मेरा बाबुआमाको पीडा अनि आफ्नो बाबा नआउदा छोरा छोरीको भाबुकता अनि आफ्नो श्रीमान नआउदाको बेदना साथै तिहारमा सप्तरङ्गी टिका लगाउन नपाउँदा तपाईहरुको मनमा जागेका विभिन्न प्रश्नप्रतिप्रश्नहरु । यी सब कुराको जानकारी हुँदाहुँदै पनि म निरिह हुन्छु ।

मलाई याद छः पहिलो वर्ष छोटो छुट्टी भएकोले कुनै चाड पर्व नमनाई अर्को वर्ष आउँछु भनेर तपाईहरु सँग गरेको बाँचा । तर, दुई दसक सम्म अर्को वर्ष कहिल्यै आएन । सायद यसपाली त तपाईहरुले मलाई आइज भनेर बोलाउनु हुन्न होला । मैले तपाईहरुको विश्वास धेरैपटक तोडिसकेको छु ।

मलाई माफ गर्नु है दिदीहरु यसवर्ष पक्का आउने आश्वासन दिएको थिएँ तर, आउन सकिनँ । म आउन नसके पनि मैले लेखेको यो पत्र पढेर चित्त बुझाउनु । यस वर्ष सबै ऋण तिरिसकेको छु । अर्को वर्ष दुईचार पैंसा जम्मा गरेर आफ्नै देशमा केही गर्नेगरी आउनेछु । अनि तँपाईहरु सँग भाइटिका लगाउँला नि हुन्न ?विदेशी भूमिमा पसिना बगाएर बस्ने रहर त मेरो पनि कहाँ हो र । बाबुआमाले खाइनखाइ दुःख गरेर ब्याचलरसम्म पढाएकै थिए ।

एउटा जागिर गरेर देशकै सेवामा आफूलाई समर्पित गर्ने र परिवारको साथमा बस्ने ठूलो सपना बुनेको थिएँ । सायद यो सपना मेरो मात्र होइन होला । म त यसको एक प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता लाखौं लाख युवाहरुको सपना यही हो । आफ्नै माटोमा बस्न पाऊँ, देशको सेवा गर्न पाऊँ, परिवारसँग रमाउन पाऊँ, दुईचार पैंसा कमाएर घर चलाऊँ, ऋष तिरुँ, कमाएर चिटिक्कको एउटा घर बनाऊँ, बिहे गरेर सुख, शान्तिसँग बस्न पाऊँ अनि भोली छोराछोरीलाई उच्च शिक्षा दिन सुकँ । तर, सोचेको जस्तो केही हुँदोरहेनछ । तँपाईहरुलाई मेरो देशको हालत थाहै छनि दिदी । यहाँ म जस्ता पढेलेखेकाको केही काम छैन । जागिर खान सोर्सफोर्स चाहिन्छ ।

व्यवसाय गर्न लगानी चाहिन्छ । जुन हामी जस्ता गरीब र पिछडिएका वर्गका लागि असम्भव छ । मुलुकमा राजनीतिक अस्थिरता हुदा आराजक राजनीति चलिरहेको छ । जहाँ भ्रष्टाचारीको पुजीवादी बर्गको मात्र हो जस्तो लाग्छ यो देश । आफ्नो योग्यता क्षमता हुदाहुदै पनि कुनै जागिर पाउदैन जहाँ नातावाद कृपावाद अनि दलिय पार्टीको मान्छे हुनु पर्छ।

यो अराजक प्रवृत्तिको अन्त्य गर्न कयौं पटक आन्दोलन क्रान्ति नभएको हैन सत्ता फेरिए मन्त्री प्रधानमन्त्री फेरिए राष्ट्रपति फेरिए तर व्यावस्था फेरिएन उहीँ पुरानो भ्रष्टाचारीहरुले
देश चलाई रहनु नै अभिसाफ बन्यो जसका कारण एउटै उपाए बाँकी रहन्छ विदेशीनु ।

बाबुले ठूलो दिदीको बिहेमा लिएको ऋण तिर्न सकेनन् । आमा सधैभरी रोगी । पैंसा नभएकै कारण अहिलेसम्म राम्रो उपचार हुन सकेको छैन। म सर्टिफिकेट र मार्कसिट बोकेर कहाँ–कहाँ पुगिन । हात जोडेर अनेक बिन्त बिसाउँदै जागिर माग्दा सबैले एउटै प्रश्न सोध्ने गर्थे, ‘तँ को मार्फत आएको होस् यहाँ ? चिनजानको कोही छ कि छैन ?’कुन पार्टीको हो ? मेरो उत्तर पनि सधै एउटै हुने गथ्र्यो, ‘कसैमार्फत आएको होइन ।

मेरो चिनजानको पनि कोही छैन ।’ त्यसपछि अर्को प्रश्न तेर्सिन्थ्यो, ‘धन्दा नमान हामी छौँ तेरो ।’ यस्तो जवाफले म खुसी हुन्थेँ । हो, फुरुङ्ग । लाग्थ्यो यहाँ मानवता अझै जिउँदै छ । नेपालीपन प्रत्येक नेपालीको रगतमा छ । तर, मेरो मन त्यतिबेला खिन्न हुन्थ्यो जतिबेला उनीहरु भन्ने गर्थे, ‘कति पैंसा खुवाउन सक्छस् ?’ के मैले एसएलसीमा ल्याएको ८० प्रतिशत, प्लस टु मा ल्याएको ७४ प्रतिशत अनि ब्याचलरमा ल्याएको ६२ प्रतिशतको मुल्यांकन यही हो ? मैले कम्युटर क्लास र प्राविधिक तालिम विदेशमा सीप खर्च गर्नका लागि लिएको हुँ ? तँलाई थाहै छ नि दिदी म कुन अवस्थाका कारण विदेशीनु परेको हो भन्ने । त्यसैले यी सब कुरा सम्झेर बुझेर भाइ आएन भने चित्त नखुखाउनु है ।

भन्नेले त भन्छन् होला विदेश गएर टन्न पैंसा कमायो भनेर तर, तँलाई थाहै छ नि विदेशमा पैंसा फल्दैन भन्ने । यो गर्मीमा मैले भेडा चराएको छु कि, मान्छेको लास गाड्ने काम गरेको छु या विदेशीको जुठा भाँडा माझेको छु वा तातो मिसिन सग यन्त्र चालित गुडिया झै अरुको इसारामा चलेको छु भन्ने त मलाई मात्र थाहा छ । यो कुरा मैले कसैलाई भनेको छैन। भन्दा मन दुख्ला । मैले उनीहरुसँग भन्ने गरेको छु, ‘तपाईंहरु कत्ति चिन्ता नलिनु । मैले राम्रो काम गरेर राम्रै पैंसा कमाइरहेको छु ।’ तर, त्यति सजिलो छैन हेर यहाँको जीवन ।

मरिमेटेर काम गर्दासमेत समयमा पैंसा आउँदैन । न नेपालबाट आउँदा सहमति भए बमोजिम नै तलब पाएको छु । न पत्रिकाको विज्ञापनमा छापिएअनुसारको काम नै । सुत्ने, खाने ठेगान छैन । नसुतीनसुती नाइट डियुटी नगरको भए महिनाको ३० हजार कसरी पठाउन सक्थेँ घरमा ।

हो दिदि, घरीघरी त्यही नेपालको पाखा पखेरा, डाँडाकाँडा, हरियाली वनजंगल, कलकल बग्ने खोलानाला याद आइरहन्छ । आमाको मिठो काख, बाबुको गाली, तिमीहरुको प्रेम झलझली सम्झिरहन्छु । यहाँ चिसो भूइँमा एउटा तन्ना ओछ्याएर सुत्नुपर्छ । पटक–पटक साहूको गाली र कुटाइ खानुपर्छ । प्रेम त कसले गर्छ र हामीलाई । पैंसाका लागि नेपाली–नेपाली नै आपसमा लड्छन् । कसैलाई कसैसँग मतलब छैन यहाँ । सबैभन्दा प्यारो पैंसा भएको छ । त्यही पैंसाको पछि दौड्दा कतिको बन्द बाकसमा लास गएको छ । कतिको यतै जेलमा बास भएको छ । यहाँ आफ्नोपन होइन दिदि
पैंसा सबैभन्दा खास भएको छ ।

मेरो देश प्राकृतिक स्रोत, साधनले निकै धनी छ । त्यसको सदूपयोग गरेर जलविद्युत उत्पादन गर्ने, पर्यटन व्यवसायको विकास तथा विस्तारमा ध्यान दिने र कृषिको आधुनिकीकरण गर्ने हो भने मात्र हामी आफ्नै देशबाट आत्मनिर्भएर बन्न सक्छौँ । लाखौँ युवाका लागि रोजगारीको अवसर प्राप्त हुन सक्छ । देश विकास र सम्बृद्धीको बाटोमा अघि बढ्छ । विश्वले नेपाललाई फरक पहिचान र आस्थाले हेर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मस्थल भनेर मात्र होइन । आत्मनिर्भर र स्वाभिमानी नेपाली भनेर चिनिन सक्छौँ हामी । तर, किन होला दिदी हाम्रा देशको राजनीति सधैभरी अस्थिर भइरहने ? देस सधै भ्रष्टाचारको संक्रमणकालबाट गुज्रिरहने । हत्या, हिंसा, आतंक, बलात्कार, दुर्घटनाका समाचार आइरहने । आजभोली त मलाई समाचार सुन्न पनि मन लाग्दैन ।

देशमा छ महिना नपुग्दै सरकार फेरिरहेको सुन्छु । एउटा सरकारले ल्याएका योजना, विकास निर्माणका नीति तथा कार्यक्रमहरु लागु हुन नपाउँदै अर्कैको सरकार बन्छ । राजनीतिक दल र तिनका नेता सत्ता र कुर्सीको लालचमा देशका विभिन्न भूभाग, जलस्रोत बेच्छन् । छिमेकीसँग राष्ट्रघाती सन्धी, सम्झौता गर्छन् । के उनीहरुलाई देशको एकरत्ति माया छैन त ? यदि छ भने राष्ट्र निर्माणमा नजुटेर किन सत्ताको खेलमा तल्लिन छन् उनीहरु ? एकतालाई किन भुल्छन् उनीहरु ? देशको विकास र सम्बृद्धीका लागि किन एकजुट हुन सक्दैनन् ? हामीले विदेशमा कमाएको पैंसाको रेमिटान्सले देश कहिलेसम्म चलाउने ? म जस्ता लाखौं युवा युवतिहरु बिदेशिनु रहर हैन बाध्यता हो ।

बिदेश बस्ने श्रमजीवी श्रमिकहरुले पठाएको रेमिटेन्सले देशको कुल अर्थतन्त्र मध्य ४० देखि ४५ प्रतिशत अर्थतन्त्र धानिरहेको तथ्य हुदा हुँदै नेपालमा रहेर देश हाक्छु भन्ने दलिय मखुन्डो ओढेका केही नेता भनाउदा भ्रष्टाचार दलालहरुको मुख बाट सामाजिक संजाल तथा टेलिभिजनमा खुल्लाम खुल्ला बिदेश बस्ने युवाहरू लाई गाली गलोज गर्दै भेज ग्रुप भेडाको उपनाम दिदै अप शब्द प्रयोग गरेको देख्दा लाग्छ मेरो देशमा समृद्धि आउन अझै बिसौ बर्ष पछि छ। जुन कुरा बाट प्रष्ट हुन्छ देश चलाउन आम जनताले बहुमत दिएर सिंहदरबार छिराउछ अनि आफ्नो स्वार्थमा जनताको अमुल्य भोट लिलाम गर्छ। एकदिन आखिर सबै मर्नु नै छ । मर्दा हामीले लाने केही होइन ।

त्यसैले किन देश र जनताका लागि केही उदाहरणीय काम गरेर भोलीका पिढीलाई सही बाटो देखाउने कार्यप्रति सकारात्मक छैनन् हाम्रा नेताहरु ? आफ्ना आसेपासेलाई भ्रष्टाचार, कालोबजारी, अनियमितता गर्न किन उक्साइरहेका छन् उनीहरु ? यो सब सम्झदा विरक्त लागेर आउँछ मलाई । म बिसौ वर्ष पहिला विदेशीदा जस्तो थियो अहिले पनि त्यस्तै छ मेरो देशको हालत । संविधान बन्यो भनेको सुन्दा निकै खुसी लागेको थियो । तर,एक दसक भइसक्दासमेत त्यही संविधान कार्यान्वयन हुन सकेको छैन । अस्ति डेढ वर्ष पुगिसक्दा अहिलेसम्म भूकम्पपीडितका लागि सरकारले एउटा घर बनाउन सकेको छैन । यो साल बाडी पिडितलाई त कुरै नगरौ। पिडितले घन्टौ घरको छतमा रहेर उदारको लाग्ज हार गुहार मागी रहदा सम्म समयमा उद्धार गर्न नसक्नु दुरभाग्य भनौ या लापरबाही उद्धारको निमित्त घन्टौ सम्म घरको छानोमा हार गुहार मागी रहेको बिदारक भिडियो देख्दा मेरो देशमा सरकार छ भन्ने आभास हुदैन ।

कुनै दुर्गम भएको भए छुटै हो काठमाण्डौ भित्र तुरुन्तै उद्धार गर्न सक्दैन भने अरु दुर दराजको कुरा कसरी सम्भव हुन्छ होला?
अब तँ आफै भन त दिदी यस्तो अवस्थामा म जस्ता युवाहरु आफ्नै देशमा बसेर विकास निर्माणमा जुट्छु भनेर के गर्ने ? भोली हातमा १०० को नोट थमाएर पार्टीको झण्डा बोकेर सभा, विरोध प्रदर्शन, आन्दोलन र नेपाल बन्द गराउन प्रयोग गरिन्छ हामीलाई । के पाखुरीमा बल, हातमा सीप र दिमागी ज्ञान भएका, जोस, जाँगरका साथ केही गर्ने अभिप्रायले हौसिएका हामी युवा राजनीतिक दलको झण्डे कार्यकर्ता हुनुपर्ने हो ? यदि होइन भने खोइ कसले घचघच्याउने नेताको ढोका ? कहिले हुने युवा एकजुट ? के हामी पनि उनै नेताको सिको गरेर बस्ने बेला हो यो ? त्यही १०० को नोट लिएर भट्टीजाने अनि एक गिलास लगाएर टाउँकोमा हात राख्दै विरत्तिनुबाहेक के छ यहाँका युवाको काम ? सायद नेपालमै भएको भए म पनि त्यसै गर्थेँ होला । मेरो यस्तो हालत देखेर बाबुआम श्रीमति छोरा छोरीको मन कति रुथ्यो होला ? भन त दिदी के मैले विदेश आएर केही विराएँ ?
अर्को पाटोलाई नियाल्ने हो भने बिधिको बिधान उल्टो छ म भकानिन्छ। आफ्नो माटोमा आफ्नो जन भुमिमा रहेर आफ्नो पसिना बगाउने तिब्र इच्छुक हुदा हुँदै पनि बिबस्ताको हुरिले हुत्याउदै बिदेशी भुमिमा पुराउछ। यो हाम्रो बाध्यता हो। यस्तै कुराले मलाई जहिले पिरोली रहन्छ दिदी …..

सानो छँदा पढ्ने । शिक्षा, ज्ञान आर्जन गर्ने । ठूलो भएपछि विदेशीने । विदशेसमा पसिना बगाउने । अनि काम गर्न नसक्ने भएपछि फेरि देश फर्कने र लाचार भएर बस्ने । कहिलेसम्म चल्छ यसरी । निस्क्रिय अवस्था जति नेपालमा बिताउने । अनि जोस, जाँगर, उत्साह, आँट आदी भएको युवा समय (सक्रिय अवस्था) सबै विदेशी भूमिमा यसरी कहिले हुने देशको विकास ? यी सब कुरा सम्झदा विरक्त लागेर आउँछ दिदी ।

जे परे पर्छ अर्को वर्ष नेपाल आएपछि मैले नयाँ अभियान संचालन गर्छु । सबै युवालाई यी सब कुरा सुनाउँछु । अनि उनीहरुलाई साथमा लिएर नेतालाई खबरदारी गराउने काम गर्छु । हामी चुपचाप उनीहरुको गुलामी गर्ने र भोली नेता हुने रहर बोकेर उनीहरुको ‘यास म्यान’ बन्ने दिन अब धेरै छैन । उनीहरुले देश र जनताका लागि काम गर्नुपर्ने छ । कुनै पनि निर्णयमा विदेशीको हस्तक्षेप स्वीकार्य हुने छैन । यदि कसैले विदेशीको गुलामी गर्ने काम गर्छ भने हामी उसलाई नाङ्गो पार्ने छौँ । देश निकाला गर्ने छौँ । देश विकास भएमा, सम्बृद्धीको बाटोतर्फ लम्किएमा म जस्ता युवा विदेशीनु पर्ने छैन ।

अनि तँ जस्ता दिदीले भाइटिकाको दिन भाइ आउने आशमा आँसु बहाउनु पर्ने छैन । अब त्यो दिन आउन धेरै छैन दिदी । पहिले मलाई नेपाल आउन मात्र दे । म चाल्नेछु नेताहरुलाई खबरदारी अभियान । चाहे मेरो ज्यानै किन नजाओस् । देशका लागि अन्तिम लडाइ लड्नेछु म । लेख्दा लेख्दै मनको बह सबै पोख्न पुगेछु । बिहानको दुई बजिसकेछ । अब निद्रा पनि लाग्न थाल्यो । फेरि ५ बजे नै काममा जानुछ । यो पत्र पढेर तैँले यसपालिको भाइटिकामा आँसु बगाउने छैनस् भन्ने आशा गरेको छु । यसपालि म आउन नपाएपनि अर्को पटक म पक्कै आउनेछु । तेरो हातबाट टिका लगाउनेछु । दसैँ तिहार मनाउनेछु । मेरो देशको प्राकृतिक सुन्दरतासँग रमाउनेछु । राम्रो केटा हेरेर तेरो बिहे गरिदिनेछु । तेरो कसम नै भयो । अर्को तिहारमा म तेरो हातको टिका लगाउन अवश्य नै आउनेछु । यस पालिलाई भने माफ गरिदे है ।

उही तपाईहरुको अभागी भाइ कान्छा विप्लव तेन्जु योञ्जन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *