अर्थ

भेरी पार गर्न मात्र लाख खर्च   

जाजरकोट।सेनाले ट्र्याक खुला गरेर हस्तान्तरण गरिसकेको जाजरकोट–डोल्पा सडकमा यातायातका साधन लैजान रु एक लाख रकम खर्च हुँदै आएको छ । कूल ११७ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डका बीच–बीचमा ‘मोटरेवल’ पुल नहुँदा सवारी साधन लैजाँदा एक लाख रकम तिर्न बाध्य हुनुपरेको हो ।

भेरी नदीको तीरैतीर रहेको सडकखण्डको बीचमा वारपार गर्दा तुइन प्रयोग गर्नुपर्ने भएकाले रु एक लाख खर्च हुँदै आएको छ । पुल निर्माणका लागि लागत अनुमान र सडक स्तरोन्नतिका लागि वातावरण प्रभाव मूल्याङ्कनको काम पूरा नहुँदा यस सडकमा वर्षेनि सास्ती हुँदै आएको हो । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिका तल्लुबगरसम्म हिउँदयाममा बस सञ्चालन हुने गर्दछन् ।

वर्षायाममा खोला र भेरी नदीमा पुल नहुँदा किस्ता–किस्तामा यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता छ । भेरी नदीका तीन ठाउँ (जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार) खर्च गरेर एकतर्फी यातायातका साधन तुइनमा तारिँदै आएको छ । यहाँका सबै यातायातका साधन भेरी नदीमा वारपार गर्दा यत्तिकै रकम बुझाएर यातायात सञ्चालन गर्दै आएका छन् ।

डोल्पाका स्थानीय तहले मोटरसाइकल खरीद गरेर जिल्लामा पुर्याएका छन् । अहिले यातायातका साधन लैजाने तयारी थालेका छन् । डोल्पामा पहिलोपटक भौतिक पूर्वाधार विकास कार्यालयले तुर्वन तारेको मात्र रु एक लाख ५० हजार खर्च गरेर जिप दुनै पु¥याएको बताएको कार्यालय प्रमुख योगेन्द्र धरालाले जानकारी दिए। तुइनमार्फत यातायातका साधन तार्दा क्षति हुने गरेको छ । भेरी नदीमा फलामको लहरोमा गाडी तार्दा आस मारेर गाडी तार्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिकाका सुरेन्द्र सिंहले बताए ।

“यात्रुबाट कमाएको सबै रकम गाडी तार्दा सकिन्छ”, उनले भने “कच्ची बाटोमा जिप चलाउँदा प्रत्येक साता मर्मत गर्नुपर्ने बाध्यता छ भने नदी पार गराउँदा लाग्ने खर्चले त झन् खर्च बढाउँछ ।” “सरकारले छिटो पुल र सडकको स्तरोन्नति गरोस्, हामी भगवान् भरोसामा यातायातका साधन चलाउँछौँ उनले भने, “हाम्रो पीडा कसले बुझिदिने, त्यसमा पनि प्रहरी चौकीपिच्छे रकम बुझाउनुपर्छ ? कुनै बेला यो पेशा नै किन गरेछु भन्ने लाग्छ ।”

उनी मात्र होइन, यो सडकमा यात्रा गर्ने जो कोही यात्रुहरु भगवान्सँग प्राथना गरेर जिपमा चढ्ने गरेको बताउँछन् । यो बीचमा गाडीमा समस्या आए मर्मत गर्ने ठाउँ नहुँदा धेरै दिनसम्म कामविहीन भएर बस्नुपर्ने पीडा यातायात व्यवसायीको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *