अर्थ

१७ खर्ब हाराहारीको बजेट आउने, कर्मचारीको तलब नबढ्ने

काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने कार्यतालिका छ । सोमबार संसदको दुबै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा) लाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बजेट सार्वजनिक गर्नुपूर्व अहिले आममानिसलाई कस्तो खालको बजेट आउँदैछ भन्ने चासो बढेको छ । अहिले सबैमा कस्तो बजेट आउँछ, कर्मचारीको सेवा सुविधा के हुन्छ ९तलब०, बृद्धा भत्ता बढ्छ कि बढ्दैन, करका विषय के कति हेरफेर हुन्छन्, के कस्ता आयोजना तथा कार्यक्रमलाई प्राथमिकता पाउँछन् भन्नेलगायतका विषयप्रति सबैको चासो देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार १७ खर्ब हाराहारीको बजेटको ड्राफ्ट तयार भइसकेको छ । कर्मचारीको महँगी भत्ता तथा पोसाक कटौती गर्ने तयारी भएको छ । कर्मचारीको तलब यसपटक नबढ्ने अर्थ मन्त्रालय स्रोतले बतायो ।

बजेटमा सरकारले अतिआवश्यक बाहेकका खर्च कटौती गर्ने, सरकारी तथा सार्वजनिक संस्था खारेज तथा मर्ज गर्ने, नेपालमै सवारीसाधन उत्पादन गर्ने उद्योगलाई दिँदै आएको भन्सार तथा अन्तशुल्कको छुट हटाउने, डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारीसाधनको भन्सार तथा अन्तशुल्क बढाउने, स्पञ्ज आइरनमा दिएको अन्तशुल्क तथा कर छुट हटाउनेलगायतका विषय समिटिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा भारी कटौती गरिने भएको छ ।

मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा रहेको ६ सदस्यीय बजेट लेखन कमिटीले शुक्रबार नै बजेट लेखन टुंग्याएर अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ । बजेटको ड्राफ्ट पाएपछि राजश्वका नीति हेरफेर गरेर सोमबार अर्थमन्त्री महतले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *